१४ बुँदे विशेष प्रस्ताव पारित गर्दै एनआरएन यूरोप बैठक सम्पन्न

फ्र्याँकफर्ट (जर्मनी)– १४ बुँदे विशेष प्रस्ताव पारित गर्दै १० औं गैरआवासीय नेपाली संघ यूरोपियन क्षेत्रीय बैठक तथा ८ औं यूरोपियन क्षेत्रीय महिला सम्मेलन समापन भएको छ ।

जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनाल, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. शेष घले, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, प्रमुख संरक्षक जीवा लामिछाने, नेपालबाट आएका परराष्ट्र मन्त्रालयका सहसचिव तीर्थराज वाग्ले, परराष्ट्र मन्त्रालयमा एनआरएन डेस्क हेर्नुहुने उपसचिव डा. डमरुबल्लभ पौडेल तथा अर्थ मन्त्रालयका अधिकृत भीमकान्त न्यौपाने, गैरआवासीय नेपाली संघका संस्थापक सदस्य रामप्रताप थापा, संरक्षक दिल गुरुंग लगायतका संघका पदाधिकारी एवं २७ देशबाट प्रतितिधित्व गर्नु हुने करिब साढे चारसय गैरआवासीय नेपाली प्रतिनिधिहरुको उपस्थितिमा सम्मेलन भएको थियो ।

बैठकले लामो समयदेखि संक्रमणकालबाट गुज्रिरहेको नेपालमा नयाँ संविधानको पूर्ण कार्यान्वयन र समृद्ध नेपालको निर्माणका लागि आर्थिक विकासलाई गति दिन नेपालका प्रमुख राजनीतिक दलहरुका बीचमा सहमति र सहकार्य गर्न अनुरोध गरेको छ । ‘नेपालको संविधानमा उल्लेख भएअनुसार गैरआवासीय नेपाली नागरिकताको मर्म र भावना अनुरुप गैरआवासीय नेपाली संघसंगको निकट सहकार्यमा यथाशिघ्र गैरआवासीय नेपाली संबन्धी ऐन बनाइ गैरआवासीय नेपाली नागरिकता वितरण गर्ने काम शुरु गर्न नेपाल सरकार तथा अन्य संबद्ध निकायहरुलाई अनुरोध गर्दछ,’ बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ, ‘विगतमा जस्तै युरोपस्थित गैरआवासीय नेपाली उद्यमीहरुले नेपालमा सामूहिक लगानी अगाडि बढाउन देखाएको तत्परताको सम्मान गर्दै अन्तर्राष्ट्रिय समन्वय परिषदलाई त्यसकालागि आवश्यक पहल गर्न अनुरोध गर्दछ।’

बैठकले गैरआवासीय नेपाली संघद्वारा संचालित लाप्राक नमुना वस्ती लगायत एनआरएन भवन, शंखमूल पार्क, ‘एक एनसिसि एक परियोजना’ लगायतमा तन, मन, धनले सहयोग गर्नुहुने सबै गैरआवासीयहरुलाई हार्दिक धन्यवाद दिंदै थप आवश्यक सहयोग गर्न प्रतिबद्धता व्यक्त गरेको छ ।

गैरआवासीय नेपालीहरुको सकृयतामा नेपालका विभिन्न विद्यालयहरुमा ‘विद्युतीय पुस्तकालय’ स्थापना भैरहेको सन्दर्भमा ती पुस्तकालयहरुलाई व्यवस्थित गर्दै गैरआवासीय नेपाली संघको मातहतमा आफुले पढेको विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्न सबै गैरआवासीय नेपालीहरुलाई बैठकले आह्वान गरेको छ ।

बैठकले ‘भिजिट नेपाल युरोप अभियान २०१७’ तथा ‘अतिथि देवो भव:’ अभियानलाई सफल बनाउँदै युरोप क्षेत्रबाट अत्यधिक मात्रामा पर्यटकहरु नेपाल भित्र्याउन युरोपस्थित नेपाली दूतावासहरु तथा नेपाल पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधिहरुसंग समन्वय गर्दै नेपाल सरकारले आह्वान गरेको ‘भिजिट नेपाल इयर २०१८’ लाई सफल बनाउन युरोपस्थित सबै एनसिसिहरुलाई अनुरोध गरेको छ ।

बैठकले प्रायोजकहरुबाट प्राप्त रकम संघको केन्द्रीय कार्यालय भवन निर्माण कोषमा हस्तान्तरण गर्ने निर्णयको स्वागत गर्दै सबै प्रायोजकहरुप्रति धन्यवाद व्यक्त गरेको छ ।

गैरआवासीय नेपाली संघको विधानलाई अरु विस्तृत र प्रभावकारी बनाउन बैठकमा प्राप्त सुझावहरुलाई अन्तर्राष्ट्रिय समन्वय परिषदमा पठाउने निर्णयसमेत भएको छ ।

‘गैरआवासीय नेपाली संघ महिला फोरमले परोपकारी क्षेत्रमा उल्लेख्य कार्य गरेकोमा सिंगो महिला फोरमलाई धन्यवाद ज्ञापन गर्दै सिंगो गैरआवासीय नेपाली अभियानमा महिलाहरुको सहभागिता बढाउने अभिप्रायले हरेक राष्ट्रिय परिषदमा यथासम्भव ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गराउन आग्रह गर्दै यस क्षेत्रका यूवा तथा महिलाहरुको उद्यमशिलता विकास तथा लगानी अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने पनि यो बैठक निर्णय गर्दछ । एक युरो परियोजनालाई सबै एनसिसीहरुमा विस्तार गरी सो अभियानमा पुरुष सदस्यहरुको सहभागिता बढाउन पनि यो बैठक अनुरोध गर्दछ,’ विज्ञप्तीमा भनिएको छ, ‘प्रवासमा नेपाली बालबालिकाहरुका निम्ति नेपाली भाषा, लिपि, संस्कार, संस्कृति सिकाउन भिडियो कार्टुन, ट्याबलेट गेम तथा प्रवास सापेक्ष पाठ्यसामग्री निर्माण गर्न पहल गर्न अन्तर्राष्ट्रिय समन्वय परिषदलाई यो बैठक अनुरोध गर्दछ।’

बैठकले अन्तर्राष्ट्रिय मान्यता अनुसार कुनै पेशा, व्यवसाय वा अध्ययनको सिलसिलामा १८२ दिन भन्दा बढी सार्क मुलुक बाहिर बस्ने विद्यार्थी तथा वैदशिक रोजगारीमा जाने नेपालीहरुलाई पनि गैरआवासीय नेपालीको परिभाषाभित्र समेट्न अन्तर्राष्ट्रिय समन्वय परिषदलाई आवश्यक पहल गर्न अनुरोध गरेको छ ।

युरोप क्षेत्रको एघारौं बैठक लक्जेम्वर्गमा गर्ने निर्णय गर्दै स्पेनमा नेपाली दूतावास स्थापना गरिएकोमा नेपाल सरकारलाई धन्यवाद दिंदै पोर्चुगलमा नयाँ दूतावास खोल्न पहल गर्न पनि बैठकले अनुरोध गरेको छ ।

बैठकले साइप्रस निवासी ब्लड क्यान्सरबाट पीडित ५ वर्षीय छोरा सन्चल साहको उपचारकालागि झण्डै बीस हजार युरो सहयोग गर्ने बैठकका सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेको छ । साथै स्पेनमा बस्ने नेपालीहरुको समस्याको समाधानकालागि सम्पत्ती मूल्यांकन प्रमाणपत्रमा परराष्ट्र मन्त्रालयको छाप लगाउने व्यवस्थाकालागि पहल गर्न यो बैठक अन्तर्राष्ट्रिय समन्वय परिषदलाई अनुरोध गरेको छ ।

बैठकले यूरोपियन बैठक सफलतापूर्वक सम्पन्न गर्न सघाउनुहुने एनसीसी जर्मनी, प्रायोजकहरु, स्वयमसेवी, पत्रकार, कलाकार लगायत सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।