काठमाडौं– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा फेरि पार्टी एकताको बहस शुरु भएको छ । असार २५ गतेदेखि एक हप्तासम्म काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा पार्टी एकताको बहस शुरु भएको हो ।
वैठकको निर्णय सार्वजनिक गर्न अध्यक्ष वैद्यले जारी गरेको विज्ञप्तिमा जनयुद्ध र विभिन्न जनआन्दोलनले धक्का खाएको भन्दै पार्टी एकताका लागि आह्वान गर्ने निर्णय लिइएको उल्लेख छ ।
‘दशवर्षको जनयुद्ध तथा विभिन्न जनआन्दोलनहरुले गम्भीर धक्का खाएको, राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या झनै गम्भीर बन्दै गएको र दक्षिणपन्थी संशोधनवाद अत्यन्तै प्रभावी रहेको अहिलेको स्थितिमा एकताबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यमाथि आवश्यक ध्यान दिइएको’ विज्ञप्तिमा उल्लेख छ । क्रान्तिकारी माओवादीले एकताका ६ वटा आधारहरु तय गरेको जनाएका छन् ।
मालेमावाद अवलम्बन गर्ने, माक्र्सवाद– लेनिनवाद–माओवाद अवलम्बन गर्ने, नयाँ जनवादी क्रान्तिको कार्यदिशा स्वीकार गर्ने, क्रान्तिमा बलप्रयोगको सिद्धान्तलाई मान्ने, संविधानलाई अस्वीकार गर्ने, वर्तमान सत्ता तथा व्यवस्थाको मन्त्रीपरिषद्मा नरहने र जनवादी–केन्द्रीयताको सिद्धान्तलाई स्वीकार गर्ने सैद्धान्तिक, राजनीतिक तथा सांगठानिक मान्यताका आधारमा पार्टी एकीकरण तथा ध्रुवीकरणका लागि सम्बन्धित क्रान्तिकारी कम्युनिष्ट पक्ष तथा समूहहरुलाई आव्हान गर्ने निर्णय लिइएको जनाइएको छ । यसअघि वैद्य माओवादीमा पार्टी एकताको बहस चुलिएपछि रामबहादुर थापा बादलसहितको समूह नेकपा माओवादी केन्द्रसँगको एकतामा सहमाति भएको थियो ।
सोमवारदेखि शुरु भएको नेकपा माओवादी केन्द्रको बैठकमा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि वैद्य माओवादी पनि चुनावमा आएकोले पार्टी एकतामा जाने संकेत गरेका थिए । ‘वैद्यजीहरु पनि चुनावमा आउनु भएको छ, अब किन छुट्टाछुट्टै चुनाव लड्ने ?’ भन्ने प्रचण्डको भनाइ थियो ।
चुनावकाबारेमा भने वैद्य माओवादीले संसदवादी शक्तिहरुले आफ्ना राजनीतिक एजेण्डाहरुलाई तिलाञ्जली दिएर आपसमा विभिन्न रुपमा अपवित्र तालमेल गर्न पुगेको भन्दै यसलाई वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको राजनीतिक पहिचानको संकटको रुपमा लिनु पर्ने उल्लेख गरिएको छ ।






