काठमाडौं– पहिरोले घर पुरिँदा पोखरामा दुईको मृत्यु भएको छ । अर्की एक महिला बेपत्ता भएकी छिन् ।
भीषण वर्षाका कारण पछाडिको ढिस्को खसेर पोखरा लेखनाथ १८ प्रस्याङपाखाका तारापती अधिकारीको घर पुरिँदा स्याङ्जा घर भई ठूलीआमाको घरमा आएका १४ वर्षीय टंक क्षेत्रीको ज्यान गएको हो । दुई तले ब्लकको कच्ची घर पहिरोले पुरेपछि क्षत्री पनि पुरिएका थिए । अन्य सदस्य भने भागेर बाँच्न सफल भएको कास्की प्रहरीका प्रवक्ता डिएसपी खड्गबहादुर खत्रीले बताए ।
यसै गरी बेलुकीको खाना खाएर भाँडा माझ्ने क्रममा आएको पहिरोले पोखरा लेखनाथ १९ अकलादेवी मन्दिर नजिकैकी ३३ वर्षीया शोभा पौडेलको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पौडेलको शव आइतबार बिहान घर भन्दा एक सय मिटर तल भेटिएको हो ।






