लण्डन । बेलायतमा बसोबास गर्ने स्याङ्जाबासीहरुको संस्था स्याङ्जा समाज यूकेको बार्षिक साधारणसभा भब्यताका साथ सम्पन्न भएको छ । दुई चरणमा गरी एम्पाएर हल अल्डर्सटमा भएको उक्त कार्यक्रममा लण्डनस्थित नेपाली दूतावासका राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो भने सयौं स्याङ्जालीहरु सहभागि भएका थिए । पहिलो चरणमा महासचिव बलराम ढकालले गत १ बर्षमा गरेको प्रगती विवरण पेश गरेका थिए भने नवनियुक्त कोषाध्यक्ष दूर्गा गुरुङले सम्पूर्ण आय–ब्यय विवरण पेश गरिन् ।
सभापती शारदा गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमले बिभिन्न ब्यक्तीहरुसँग आगमी बर्षको लागी सुझावहरु लिएको थियो । साधारणसभाको अवसरमा संस्थाले जिल्लामा बिभिन्न सहयोग जारी राख्दै बेलायत भित्र रहेका सम्पूर्ण स्याङ्जा जिल्लाबासी हरुलाई एकजुट गर्दै छरिएर रहेका पालिका वा गाँउ स्तरका सबै संघसस्थाहरुलाई एउटै छातामा ल्याउन प्रयास गर्ने गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

दोश्रो चरणको कार्यक्रममा राजदूत लोकदर्शन रेग्मी तथा उनकी धर्मपत्नी चन्द्रा रेग्मी उपनियोग प्रमुख रोशन खनाल र दुताबास परिवार सेकेन्ड सेक्रेटरी रामबाबु नेपाल लगायतलाई धौलागिरी नौमती बाजाले स्वागत गर्दै हलमा प्रवेश गराइएको थियो । उक्त सांगीतिक बाजागाजामा राजदूत रेग्मीले गीतको एक टुक्का गाएर सबैलाई नचाए ।
स्याङ्जा जिल्लाकै भएको कारण पनि राजदूत रेग्मी र संस्थाका सदस्यहरुले विशेष रमाइलो गर्दै नाँचगान गरेका थिए । सोही अवसरमा आउँदै गरेको नेपालीहरुको महान पर्व विजयादशमी तथा दीपावलीको शुभकामना आदान प्रदान गर्दै पञ्चे बाँजामा सबै झुलेका थिए भने स्टेजमा नृत्य प्रस्तुत गरिएको थियो।

उपाध्यक्ष भरत गुरुङले दोश्रो चरणको कार्यक्रम सञ्चालन गरेका थिए भने मनोरन्जन संयोजक रहेका सल्लाहाकार डेबिड गुरुङले कार्यक्रमलाई बिशेष रमाइलो बनाएका थिए । स्याङ्जा जिल्लाको सबैजसो स्थानिय निकायहरुको प्रतिनिधित्व रहेको उक्त कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि रहेका राजदूत रेग्मीले आफु जहाँ र जता भए पनि नेपाल र नेपालीको हित हुने गरी काम गरिरहने बताएका थिए । सोही अवसरमा मगर संघ यूकेका अध्यक्ष सुनिल रानाले पनि सम्बोधन गरे । नेपालको राष्ट्रिय गानबाट सुरु गरिएको दोश्रो चरणको कार्यक्रममा नाच र संगीतले सबैलाई रोमाञ्चित बनाएका थिए ।

संस्थाकै विशेष कार्यक्रमहरु गर्ने जानकारी दिदै अध्यक्ष शारदा गुरुङले नेपाल र यूके दुवै देशमा रहेका स्याङ्जा तथा नेपालबासीहरुको हकहितको निम्ती काम गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको लण्डन नेपाल न्यूजलाई बताए।
स्याङ्जा जिल्लामा जन्मेर हुर्केर मुख्यसचिव सम्म पुगेका रेग्मी बेलायतमा राजदूतको रुपमा आउँदा स्याङ्जा घर भएका बेलायतबासीहरु खुशी भएका थिए तर गत २१ सेप्टेम्बरमा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले परराष्ट्रका कर्मचारीबाहेक पूर्ववर्ती केपी शर्मा ओली सरकारले राजनीतिक कोटामा पठाएका सबै १० राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेपछि रेग्मी अक्टोबर अन्तिम साता नेपाल फर्किंदैछन् । उनले कार्यभार सम्हालेको करिब ६ महिनामात्र भएको थियो ।






