केहि केन्द्रमा मतदान सुरु हुन सकेनः निर्वाचन आयोग

काठमाडौं– स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनका लागि आज बिहान ७ बजेदेखि शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य शुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार ८३६४ मतदान केन्द्रमध्ये केही केन्द्रमा वर्षात्को कारणले मतदान कार्य शुरु हुने तयारी भइरहेको र बाँकी सबै मतदान केन्द्रमा मतदान कार्य शुरु भएको जानकारी प्राप्त भएको छ ।
पूर्वी पहाडका केही स्थानमा वर्षा भइरहेको भएपनि मतदाताहरु उत्साहका साथ शान्तिपूर्वक मतदानका लागि पंक्तिबद्ध भइरहेको पनि आयोगले जनाएको छ ।
स्थानीय तहहरुका मतदान केन्द्रहरुको व्यवस्थापन गरी स्थानीयस्तरमा नै त्रिपाल लगायतका सामग्री र मतदान केन्द्रलाई व्यवस्थित गर्न राजनीतिक दल, स्थानीय नागरिक समाजलगायतबाट प्राप्त सहयोगप्रति आयोगले धन्यवाद दिएको छ ।