तस्बिर: एभरेष्ट गौतम/ शिब भण्डारी
लन्डन । लन्डन वेम्लीस्थित विश्वप्रसिद्ध एसएसइ एरिनामा ऐतिहासिक नेपाली कन्सर्ट सम्पन्न भएको छ।
सांगीतिक कार्यक्रमका लागि विश्वमै ‘आइकोनिक भेन्यू’ मानिन्छ वेम्ली एरिना अन्तर्राष्ट्रिय मञ्चमा शनिबार सांझ नेपाली गीत संगीत गुन्जियो ।झण्डै ७ हजार नेपाली युवा ओइरिए ।
एकैपटक चार वटा नेपाली ब्याण्डले आफ्नो कला प्रस्तुत गरेर नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय उचाईंमा पुरयाउने प्रयास गरे । युवा मनका ढुकढुकी गायक बिपुल क्षेत्री (ट्राभलिङ ब्याण्ड), अल्बाट्रोस, कुटुम्ब अनि एज ब्याण्ड गरि चारवटा सांगीतिक समूहले एउटै प्लेटफर्ममा गीत संगीत प्रस्तुत गर्दा युवा दर्शकले संगै गाएर नाचेर साथ दिए ।
कार्यक्रमको शुरुमै नेपाली लोक बाजाको उत्थानमा समर्पित लोकप्रिय ब्याण्ड कुटुम्बले असारै महिनामा, रातो र चन्द्र सूर्य, सोध रामलाई लगायत गीत संगीत र धुन प्रस्तुत गरेर दर्शकलाई ‘वार्म अप’ गराएको थियो । कन्सर्टमा गायक विपुल क्षेत्रीको युवा क्रेज अत्यधिक देखियो । क्षेत्रीले डढेंलो लाग्यो, अल्लारे यो जोवन, सिरिरी हावा बग्यो सुस्तरी, भेट भयो आज हामी लगायत आफ्ना कयौं हिट आइटम प्रस्तुत गरे । एज व्याण्डको प्रयास हो मेरो, नचाहेको होइन तिमीलाई…गीत देखि अल्बाट्रोसको रक म्यूजिकमा झुम्मिने दर्शकको कमी रहेन ।
नेपालीले वेम्ली ऐरिनामा हत्तपत्त आंट्न नसक्ने उक्त कार्यक्रम समिर गुरुङ, दीपेन्द्र लामा, सिद्धार्थ गुरुङ, कपिल गुरुङ, प्रशासन गुरुङ लगायतको संयुक्त प्रयासमा भएको हो ।
उक्त कार्यक्रम कार्यक्रमका उत्साहित र भब्य सम्पन्न भएको आयोजक पर्चा प्रोडक्सनका सिइओ समिर गुरुङले लण्डन नेपाल न्यूज संग को कुराकानी मा बताए। ।






