काठमाडौं – दोलखाको जुँगुमा हत्या गरिएका कुलबहादुर तामाङको परिवारले घटनामा संलग्न व्यक्तिलाई छाडिएको भन्दै न्यायाधीशमाथि कारबाहीको माग गर्दै न्यायपरिषदमा निवेदन दिएका छन् ।
जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठले हत्या अभियोगमा पक्राउ परेकाले साबिती बयान दिए पनि सामान्य तारेखमा छाडेको भन्दै पीडित परिवारले उनलाई कारबाहीको माग गर्दै निवेदन दिएका हुन् ।
मृतकका बाबु गोरे तामाङ र श्रीमती साङमाया तामाङले संयुक्त रूपमा परिषदमा निवेदन दर्ता गराएका छन् । स्थानीय तहको निर्वाचनका क्रममा गत २६ वैशाखमा माओवादी केन्द्रका कार्यकर्ताले गौरीशंकर गाउँपालिका–१ जुँगुमा तामाङको हत्या गरेका थिए ।
पीडित परिवारले हत्यामा संलग्न मुख्य अभियुक्त देवी खड्का र विशाल खड्कासहित ४० जना अभियुक्त पक्राउ नपर्दा र जिल्ला अदालत दोलखाका न्यायाधीश श्रेष्ठले अभियुक्तहरूले आक्रमणमा संलग्न रहेको साबिती बयान दिँदासमेत साधारण तारेखमा छाडेपछि न्यायको खोजीमा काठमाडौं आइपुगेको निवेदनमा उल्लेख गरेका छन् ।






