नेपाल र चेक गणतन्त्रबीच सम्झौता

नेपाल र युरोपेली मुलुक चेक गणतन्त्रबीच लगानी प्रवद्र्धन तथा आर्थिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौता भएको छ । दुई मुलुकबीच पहिलोपटक भएको उक्त सम्झौता औद्योगिक विकास, लगानी विस्तार र निजी क्षेत्रसँगको साझेदारी एवम् सहयोगमा केन्द्रित छ । पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज आयोजित विशेष समारोहमा चेक गणतन्त्रका उद्योग वाणिज्यमन्त्री यान मलाडेक र अर्थमन्त्री डा रामशरण महतले हस्ताक्षर गर्नुभयो ।
आर्थिक विकाससम्बन्धी सूचना आदानप्रदान, दुवै देशका लगानीकर्ता कम्पनी एवम् औद्योगिक प्रतिष्ठानबीच सहयोग तथा साझेदारी विस्तार, साझा चासोका परियोजना निर्माणमा प्रोत्साहन, दुवै देशका उत्पादन प्रवद्र्धनका लागि व्यापार मेला आयोजना तथा अन्य प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गर्नु सम्झौताको मुख्य उद्देश्य रहेको मन्त्री महतले बताउनुभयो ।
उक्त सम्झौता कार्यान्वयन गर्न सचिवस्तरीय संयुक्त समिति गठन गरिने बताउँदै उहाँले उक्त समितिको सहअध्यक्षता दुवै देशका अर्थसचिवले गर्ने जानकारी पनि दिनुभयो । विविधतायुक्त देश नेपालमा लगानीको पूर्ण प्रतिफल प्राप्त हुने र त्यो सहजरुपमा लगानीकर्ताले फिर्ता लैजाने सरल कानुनी व्यवस्था गरिएको मन्त्री महतले बताउनुभयो ।
चेक गणतन्त्रसँग निर्यात व्यापार बढाउने नेपालको चाहना दोहो¥याउँदै उहाँले नेपालप्रति उक्त मुलुकले देखाएको अभिरुचि एवम् सहयोगी भावनाको सराहना गर्नुभयो । उहाँले भन्नुभयो – अपार सम्भावनायुक्त शान्त मुलुक नेपालमा ढुक्क भएर लगानी गर्नुहोस् । आज भएको द्विपक्षीय सम्झौता पारस्परिक सहयोग अभिवृद्धिको प्रारम्भिक चरण भएको र त्यसले विकास र साझेदारीका धेरै क्षेत्र पहिल्याउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।