काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा मंगलवार संसदबाट नेपालको ४० औं प्रधानमन्त्री निर्वाचित भएका छन ।
नेपालको ४० औं प्रधानमन्त्री बन्ने दौडमा काँग्रेस सभापति शेरबहादुर देउवा मात्र एक्ला उम्मेदवार छन् । देउवा झन्डै दुई तिहाई सांसदको समर्थनसहित प्रधानमन्त्री बन्ने देखिएको छ ।
देउवा प्रधानमन्त्रीमा निर्वाचित भएमा उनको कार्यकाल देउवा २३० दिन हुने छ । २०७४ माघ ७ गते वर्तमान संसदको कार्यकाल सकिने भएकोले देउवाको कार्यकाल जम्मा २ सय ३० दिनको हुने भएको हो ।
माओवादी केन्द्र, राप्रपा, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीलगायत दलको समर्थनमा देउवा चौथोपटक प्रधानमन्त्री निर्वाचित भएका हुन् ।
प्रधानमन्त्री पदका लागि देउवाकोमात्रै उम्मेदवारी परेको थियो । देउवाको पक्षमा ३८८ मत पर्यो भने विपक्षमा १७० मत परेको थियो । एमाले, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, परिवार दललगायतको विपक्षी गठबन्धन उम्मेदवारीविरुद्ध उभिएको थियो ।
देउवा समकालिन नेताहरुमा सबैभन्दा बढी चौथोपटक प्रधानमन्त्री बन्ने रेकर्ड समेत बनाएका छन् । देउवा पहिलोपटक ०५२ सालमा प्रधानमन्त्री बनेका थिए । ४९ वर्षमा नै प्रधानमन्त्री बन्ने सौभाग्य पाएका देउवा यतिबेला भने ७१ बर्ष पार गरिसकेका छन् । दोस्रोपटक उनी ०५८ साल साउन ११ र तेस्रोपटक ०६१ जेठ २१ मा प्रधानमन्त्री बनेका थिए ।






