काठमाडौं- बहुप्रतीक्षित भरतपुर महानगरपालिकाको मतगणनाको विषय अन्तत: पुन मतदानमा गएर टुङ्गिने भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर १९ को मत च्यातिएको बुथमा फेरि मतदान गराउने निर्णय आज बसेको निर्वाचन आयोगको बैठकले गरेको हो ।
‘भरतपुर १९ को मतगणना गर्दैगर्दा मतगणना स्थल कब्जा भएको भन्ने पुष्टि हुन आयो । त्यसकारण मतपत्र च्यातिएको मतदान केन्द्रको सबै मत रद्द भएको ठहर गर्दै पुन: मतदानका लागि मिति स्थान र समय तोक्न प्रमुख निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भयो,’ आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने ।
नेकपा एमालेले मत गणना पहिलेकै ठाउँबाट थाल्नुपर्ने अडान लिएको थियो भने नेकपा माओवादीले पुन: मतदान हुनुपर्ने अडान लिएको थियो। आयोगले मत गणनाका क्रममा च्यातिएको मतपत्र संख्या किटान गर्न निर्देशन दिँदै प्रकृयालाई लम्ब्याएको थियो ।






