माओवादी केन्द्र र साझाको धरौटी जफत

काठमाडौं– महानगरपालिकामा माओवादी केन्द्रका मेयर र उपमेयर उम्मेदवारको जमानत जफत भएको छ ।

मेयरका उम्मेदवार सर्वोत्तम डंगोल र उपमेयरकी उम्मेदवार सुशीला पौडेल दुबैको जमानत जफत भएको छ ।

डंगोलले ७ हजार ९ सय ६ मत ल्याएका थिए भने पौडेलले १० हजार ४ सय ४८ मत ल्याएकी थिइन् । खसेको कुल मत मध्ये डंगोलले ४.१३ प्रतिशत मत ल्याए भने पौडेलले ५.४६ मत ल्याइन् ।

माओवादी केन्द्रका काठमाडौं इन्चार्ज लेखनाथ न्यौपानेले काठमाडौं महानगरमा संगठन कमजोर भएका कारण हार्नु परेको बताएका छन् ।

-स्थानीय तह निर्वाचनको नियमावली अनुसार निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेद्वारको जमानत जफत हुने प्रावधान छ ।
-प्रावधान अनुसार काठमाडौंमा माओवादी केन्द्रका मेयरसहित २५ जनाको नजमानत जफत भएको छ ।
-छोटो समयमा चर्चा कमाएका साझा पार्टीका उम्मेद्वार किशोर थापाले पनि जमानत जोगाउन सकेनन् । (थापाले १८ हजार ४ सय ९६ अर्थात ९.६८ प्रतिशत मत ल्याएका थिए)

काठमाडौं महानगरपालिकामा एक लाख ९७ हजार २ सय २७ मत खसेको थियो । जसम्ध्ये १ लाख ९१ हजार ४१ मत सदर भएको थियो । यसरी धरौटी जोगाउन कम्तिमा १९ हजार मत ल्याउनुपर्ने थियो । काठमाडौंबाट एमाले, कांग्रेस र विवेकशील नेपाली दलले मात्र जमानत जोगाएको थियो ।