भक्तपुर- नेकपा (एमाले) ले आगामी जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचन पुरानै संरचनाअनुसार हुनुपर्नेमा जोड दिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज बसेको स्थायी कमिटी बैठकले बजेट तथा नीति कार्यक्रमबारे छलफल गर्नुपर्ने बेलामा स्थानीय तह थप्ने र सीमाङ्कन हेरफेर गर्ने सरकारको निर्णयले दोस्रो चरणको निर्वाचन नै ओझेलमा परेको ठहर गरेको छ ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले प्रचार विभाग प्रमुख एवम् पार्टी सचिव योगेश भट्टराईले निर्वाचनको सङ्घारमा प्रधानमन्त्रीको राजीनामाले झन् अन्योल थपेको बताउनुभयो । सरकारले हालै गरेको सीमाङ्कन हेरफेर असंवैधानिक र नियम कानुनको मर्म विपरीत रहेको बैठकले ठहर गरेको बताउँदै उहाँले दोस्रो चरणको निर्वाचन पुरानै संरचना अनुसार हुनुपर्नेमा जोड दिनुभयो ।
अहिलेलाई ७४४ सङ्ख्यामै स्थानीय तहको निर्वाचन हुनपर्ने र स्थानीय तह हेरफेर गर्नु पर्ने नै भए पाँच वर्षपछि गर्नुपर्ने एमालेको धारणा रहेको उहाँको भनाइ थियो । नयाँ संरचनाअनुसार निर्वाचन हुन नसक्ने र निर्वाचन आयोगले पनि निर्वाचन गर्न नसक्ने बताउँदै उहाँले सरकारले हालै गरेको सीमाङ्कन हेरफेर एमालेलाई अमान्य रहेको भट्टराईले बताउनुभयो ।






