एमाले कार्यकर्ताद्वारा गगन थापामाथि दुर्व्यवहार

काठमाडौं । स्वास्थ्यमन्त्री एवम नेपाली कांग्रेसका नेता गगन थापालाई शनिबार विहान काठमाडौंको कपनमा नेकपा एमालेका कार्यकर्ताहरुले दुर्व्यवहार गरेका छन् ।
काठमाडौं क्षेत्र नम्वर ४ को कपनमा नातामा हजुरबुबा पर्ने एक आफन्तलाई भेटर फर्कने क्रममा जोरधारा पछाडी आदर्शनगर टोलमा उनीमाथि दुब्र्यहार भएको हो ।

हजुरबुबाकोबाट निस्किएपछि एक कार्यकर्ताको घरमा निर्वाचनको बारेमा छलफल गरेर फर्कदै गर्दा गाडी घेरेर बसेका एमाले कार्यकर्ताहरुले उनलाई आचारसंहिता विपरित आएको आरोप लगाएका थिए ।

त्यहाँबाट थापा बाहिरिएपछि नीलोपुलमा हुल वाँधेर बसेका केहि एमाले कार्यकर्ताहरुले थापालाई बाटो रोकेर हुलहुज्जत गर्ने प्रयास गरेको मन्त्री थापाका प्रेस संयोजक जीवन भण्डारीले जानकारी दिए ।

आचारसंहिता पालना गर्दै नीजि नम्वर प्लेटको गाडीमा नीजि भेटघाटमा रहेका थापालाई हुल वाँधेर आएका एमालेका कार्यकर्ताहरुले छापामार शैलीमा हुलहुज्जत गर्न खोजेको स्थानिय काँग्रेस कार्यकर्ता मनोज सिग्देलले बताए ।

एमालेका वडा नं १२ का अध्यक्ष नवराज भट्टराई, क्षेत्रीय सचिव ध्रुव न्यौपाने र एमालेको उपमेयरकी दावेदार रहेकी देवी रेग्मीको नेतृत्वमा आएका कार्यकर्ताहरु थापा विरुद्ध उत्तेजक नारावाजीमा पनि उत्रिएका थिए ।

काँग्रेस कार्यकर्ताहरु त्यहाँ आए स्थिति विग्रने आशंकामा थापा त्यहाँबाट वाहिरिएका थिए ।