अनियमितता भएको पुष्टि भए झुन्डिन तयार छुः कार्यकारी निर्देशक घिसिङ

काठमाडौँ, २६ वैशाख । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एलइडी बल्ब खरिदमा अनियमितता भएको पुष्टि भए आफू झुण्डिन तयार रहेको बताउनुभएको छ ।

“जनतालाई उज्यालो बाड्नु अपराध हो, विद्युत्भार कटौती अन्त्य गर्नु अपराध हो, उद्योग व्यवासाय फस्टाउँछु भन्नु गलत काम हो रु गलत काम गर्ने मनसाय राखेको भए मैले अर्बौं कमाउन सक्थे, एलइडी बल्बमा मलाई एक पैसा पनि खानु छैन”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

प्राधिकरणमा आज आयोजित पत्रकारसम्मेलनमा आगामी हिउँदमा नियमितरुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ भारत सरकारको सरकारी स्वामित्वको इनर्जी एफिसेन्सी सर्भिस लिमिटेडबाट नौ वाट क्षमताको बल्ब खरिद गर्न लागिएको जानकारी दिनुभयो ।

रु ४७ अर्बको विद्युत् जोगाउनका लागि एलइडी बल्ब खरिदको प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उहाँले विद्युत्को बढ्दो मागलाई सम्बोधन गर्नका लागि हाल करिब ३५ लाख ग्राहकले प्रयोग गरिरहेका सिएफएल र साधारण बल्ब प्रतिस्थापन गर्ने गरी लिड बल्ब प्रयोगमा ल्याउनुपर्ने आवश्यकता देखिएको उल्लेख गर्नुभयो ।