वेलायती संसदीय निर्वाचनमा डा. कैनी

लण्डन । डा. बच्चु कैलाश कैनी वेलायतमा आगामी जुन ८ मा हुन गईरहेको आम निर्वाचनमा लेबर पार्टीका तर्फबाट संसदीय निर्वाचनको उम्मेदवार बन्ने भएका छन् ।

वेलायतको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले तोकेको योग्यता पुगेका योग्य सदस्यहरुबाट संसदीय निर्वाचनमा चुनावमा उम्मेदवार हुन चाहेनेले आवेदन मागेकोमा डा कैनीले समेत आवेदन दिएका थिए।

उम्मेदवारी चयनको प्रारम्भिक प्रकृयामा उक्त क्षेत्रबाट डा कैनी सहित जम्मा तीन जनाको आवेदन  परेको थियो । पहिलो चरणमा पार्टीले डेइजी पेजलाई  चयन गरे पनि उनले स्वइच्छाले आफ्नो उम्मेदवारी फिर्ता लिए पछि पार्टीले कैनीलाई अन्तिम उम्मेवार बनाउने निर्णय गरेको हो।

डा. कैनीले यस अगाडि लेबर पार्टीका तर्फबाट काउन्सिलरको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । लेबर पार्टीको तर्फबाट संसदीय निर्वाचनको उम्मेदवार बनेको डा. कैनी आफ्नो उम्मेदवारीले बेलायतमा बस्ने नेपाली समुदायलाई र भावी पुस्तालाई उत्प्रेरणा मिल्ने बताएका छन् । साथै पार्टीले आफ्नो योग्यता र क्षमतालाई कदर गरेको डा.कैनीको भनाई रहेको छ ।
डा कैनी लेबर पार्टीको सन २०१४ मा म्यानचेस्टर मा भएको बार्षिक अधिवेशनमा महासमिति प्रतिनिधि थिए । पार्टीको स्थानीय निकायको ट्रेड युनियन संयोजकको रुममा समेत काम समेत समालेका उनले सन २०१५ को स्थानीय निर्वाचनमा उक्त काउन्सिलको काउन्सिलरको रुपमा चार बर्षको लागि निर्वाचित भएका थिए।

तनहुँको कमलाबारीमा जन्मिएका डा. कैनी अहिले क्वीन एलिजाबेथ अस्पताल, लन्डनमा बरिष्ठ ब्यबस्थापकको रुपमा कार्यरत  छन। बेलायतमा नेपाली समुदायकाबीच चिर परिचित र सक्रिय डा. कैनी समसामयिक बिषयमा विभिन्न पत्रपत्रिकामा लेख रचनाका साथै कथा र कबिता समेत लेख्छन्।