काठमाडौं, चैत २८ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसहित उद्योगी–व्यवसायीलाई सम्मान गरेको छ ।
महासंघको ५१औं वार्षिक साधारणससभाको अवसरमा काठमाडौंमा सोमबार भएको कार्यक्रममा घिसिङलाई ‘पब्लिक सर्भिस ट्रेन्ड सेटर गोल्ड अवार्ड’बाट सम्मानित गरिएको हो ।
यस्तै, हिमालयशमशेर जबरा, पर्यटन व्यवसायी कर्ण शाक्य, वीरेन्द्रबहादुर बस्नेत, नकिम उद्दिनलाई पनि सम्मान गरिएको छ ।
यसैगरी, सम्मानित हुनेमा रुद्रराज पाण्डे, सुरेशराज शर्मा, डा. सन्दुक रुइत, अनुराधा काइराला, लक्ष्मणबाबु श्रेष्ठ, कैलाश सिरोहिया छन् ।
मरोणपरान्त सम्मानबाट विराटनगर जुट मिल्सका संस्थापक रामलाल गोल्छालाई महासंघले सम्मान गरेको छ ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय ढाँचामा उद्योगी–व्यवसायीले दोहोरोरतेहेरो कर तिर्नु नपर्ने व्यवस्था गरिने आश्वासन दिए ।
महासंघका अध्यक्ष पशुपति मुरारकाले भूकम्प, नाकाबन्दी र राजनीतिक अस्थिरताले मुलुक धेरै पछाडि परेको भन्दै राजनीतिक स्थिरतामा जोड दिए ।






