प्रमाणित भए राजिनामा दिन्छु, जथाभावी निर्णय नगर्नुहोस्’

काठमाडौं- परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संसदको श्रम तथा अन्तराष्ट्रिय सम्वन्ध समितिले आफूमाथि लगाएको आरोप पुष्टि भए आफू मन्त्री पद छोड्न तयार रहेको बताएका छन् ।

संसदको श्रम तथा अन्तराष्ट्रिय सम्वन्ध समितिको हिजो आईतबार बसेको बैठकले परराष्ट्रमन्त्रीमाथि छानविन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको भन्ने समाचार आएपछि मन्त्री महतले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महतले समितिले आफूमाथि कारबाही गर्ने निर्णय गरेको समाचार आएपछि आश्चर्यमा परेको गुनासो पोखे । उनले भने,‘यो स्वार्थसहित आएको निर्णय हो, मलाई आश्चर्य लागेको छ, हिजो समितिको बैठकमा मैले आफ्ना कुराहरु रोखेको छु, हिजोको बैठकमा कोरम पुग्ने संख्यामात्रै थियो, शीर्ष नेता सम्मिलित समितिमा हिजो कोही पनि हुनुहुन्थ्यो, भएका साथीहरुलाई पनि यो निर्णय आएपछि सोध्दा आश्चर्य मान्नुभयो ।’

समितिले खाडी मुलुकहरुमा घरेलु कामदारका रुपमा भइरहेको नेपाली महिलाको तस्करीमा पराराष्ट्र मन्त्रालयकै भूमिका देखिएको बताउँदै मन्त्री महतलाई नै कारबाही गर्नुपर्ने निर्णय गरेकोप्रति आपत्ति प्रकट गर्दै मन्त्री महतले भने,‘यो समाचार आएपछि मलाई आश्चर्य लागेको छ, मैले त राम्रो काम गरेको छु, यो सबै गैरकानूनी काम हो, यसलाई रोक्नुपर्छ भनेर मैले निर्दैशन दिएको छु, तर यहाँ प्रोत्साहन हुनुको सट्टा उल्टै झुटा आरोप लगाउने काम भएको छ, यो छानविनको विषय हो, मिडियाले यसमा सत्य तथ्य बाहिर ल्याउनुपर्छ।’

साक्षात्कारमा बोल्दै वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउनेबारे निर्देशिका कार्यान्वयव गर्न आफूले बरु निर्देशन दिएको उनले स्पष्ट पारे । महतले मलेसिया लगायत देशमा अहिले पनि राज्यको जानकारी विना नै १७ हजार सात सय रुपैया लिएर पठाउने काम भइरहेको बताए ।

उनले समितिले किन यस्तो निर्णय गर्यो भनेर समितिका सभापति प्रभु साह लगायतका अन्य बैठकमा उपस्थिति सांसदहरुलाई समेत आफूले सोधेको बताउँदै भने,‘मैले समितिका सभापतिलाई पनि फोनमा सोधें, किन यस्तो विज्ञप्ती आयो भनेर कुरा गरें ।’ उनले समितिले यसरी विज्ञप्ती निकाल्नु आँफैमा आश्चर्यजन रहेको गुनासो पोखे । महतले समितिका सभापति साह कसैको ईशारामा चलेको समते आरोप लगाए ।