बाबुराम र उपेन्द्रबीचको एकता मोर्चा चुनावमा आउने संकेत हो

काठमाडौं- सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले स्थानीय तहको निर्वाचन नरोकिने स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पुनले भने, ‘निर्वाचनको प्रक्रिया धेरै अघि बढिसक्यो, अब निर्वाचन हुँदैन कि भनेर कसैलेपनि शंका गर्नुहुँदैन, अब रोकिने र नहुने भन्ने हुँदैन्, कारणवश कुनै दल छुटे पछि उनीहरुलाई क्षतिपूर्तिसहित प्रदेश र संघीय निर्वाचनमा समेटिनेछ ।’

साक्षात्कारमा बोल्दै नेता पुनले भने, ‘५० जिल्लाको मतपत्र छपाईको काम सम्पन्न भैसकेको छ, ७५ हजार म्यादी प्रहरी भर्ना भैसकेका छन्, प्रशासनिक एव्म सूरक्षा तयारी भैरहेको छ ।’ स्थानीय तहको निर्वाचन कुनैपनि हालतमा नसर्ने जिकिर गर्दै पुनले भने,‘सरकार अब पछि हट्दैन्, चुनाव हुन्छ, हुन्छ ।’

पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन जानु अघि नै असन्तुष्ट मधेशी मोर्चा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग एक किसिमको अनौपचारिक समझदारी बनिसकेको समेत दाबी गरे । उनले सिमांकनबाहेकका विषयहरुलाई चुनाव अघि नै संशोधन गरेर मोर्चालाईपनि चुनावमा लिएर जाने सरकारको तयारी रहेको र यसमा मोर्चा सकारात्मक देखिएको विश्वास दिलाए ।

उनले मधेशी मोर्चाले पनि भित्रभित्रै चुनावको तयारी गरिरहेको दाबी गरे । पुनले थपे,‘मधेशी मोर्चालेपनि भित्रभित्रै चुनावको तयारी गरिरहेको छ, आफ्नो प्रभाव रहेको जिल्लामा कहीँपनि दल दर्ता गराउन छुटाएको छैन, बरु काँग्रेसको केही ठाउँमा छुटेको छ ।’
त्यस्तै उनले पछिल्ला समय मधेशी मोर्चामा आवद्ध दलहरुवीच एकता हुने कुरा आउनुपनि चुनावको तयारीको लागि हो भन्ने कुरा प्रष्ट हुने जनाए । पुनले भने, ‘बाबुराम भट्टराईजीको नयाँ शक्ति नेपाल र उपेन्द्र यादवजीको संघीय समाजवादी फोरम नेपालवीचपनि एकता हुँदैछ, यो राम्रो हो, वीरगञ्जमा हालै व्यापारीहरु फोरममा प्रवेश गरेका छन्, उनीहरु आन्दोलन गर्नको लागि त पार्टी प्रवेश गरेका होइन नि, यो पनि चुनावको तयारी नै हो।’ उनले पार्टीहरुवीच एकता हुनु मुलुकको लागि पनि राम्रो हुने स्पष्ट पारे ।