काठमाडौ, माघ ९ – पशुपतिनाथ मन्दिरको देवस्व दुरुपयोग गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोष, काठमाडौं जिविसका कर्मचारी र ठेकेदार गरी ९ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
अख्तियारले कोषका तत्कालिन सदस्य सचिवहरु निर्मल कुइकेल र शुसिल नाहाटा, काठमाडौं जिविसका पूर्व स्थानीय विकास अधिकारीहरु गोपाल पराजुली, प्रेमराज जोशी र महेन्द्र कुमार श्रेष्ठ, लगायत विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । पशुपति क्षेत्र विकास कोषको जग्गामा रहेको खानीको बालुवा ठेक्काका क्रममा भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । कुईकेल एमाले काठमाण्डौं जिल्ला अध्यक्ष हुन् । ४६ करोड ५७ लाख अनियमितता भएको अख्तियारको आरोप छ ।
गतवर्षको संविधानसभा निर्वाचनमा उनी काठमाडौं ४ बाट कांग्रेस उमेद्वार गगन थापासग पराजित भएका थिए । उनी एमाले सिफारिसमै कोषको सदस्य सचिव भएका व्यक्ति हुन् । नाहाटा भने कांग्रेसको सिफारिसमा कोषका सदस्य सचिव भएका थिए ।
विशेष अदालत स्रोतका अनुसार जिविसकै तत्कालिन योजना अधिकृत भिष्म मल्ललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । त्यसैगरी ठेकेदारहरु बच्चुराम दाहाल, मिठाराम दाहाललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । मुद्दा विशेषमा दर्ता हुने प्रक्रियामा छ ।






