काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकबाट बहुमत केन्द्रीय सदस्यको चाहना भन्दै गाई चुनाव चिन्ह राख्ने निर्णय भएसँगै तीब्र विवाद देखिएको छ ।
राप्रपाको शुक्रबारको केन्द्रीय समिति बैठकबाट अध्यक्ष कमल थापाले पार्टीको चुनाव चिन्ह गाई राख्ने निर्णय गराएसँगै वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले तीब्र असन्तुष्टि जनाएका हुन् ।
यस्तै अर्का नेता लोकेन्द्र बहादुर चन्द, पशुपति शमशेर राणा, बुद्धिमान तामाङलगायतले पनि चुनाव चिन्हप्रति असन्तुष्टि जनाएको बताइएको छ ।
लोहनीले शुक्रबार राती सामाजिक सञ्जालमार्फत पार्टीले चुनाव चिन्ह हलो छाडेकोमा आफ्नो असन्तुष्टि रहेको बताएका छन् भने हलोप्रति आस्था राख्ने नेता कार्यकर्तालाई धैर्य गर्न समेत आग्रह गरेका छन् ।
‘राप्रपाले चुनाब चिन्ह हलो छोडेको छ। यसमा मेरो असहमति छ। एकता हुँदाको समय झन्डा राप्रपा नेपालको हुने भनि सहमति भएको हो। चुनाब चिन्हको हकमा हलो हुने समजदारी भएको हो’, लोहनीले भनेका छन्, ‘ आज त्यो समझदारी बिपरित निर्णय भएको छ। राप्रापा हलोप्रति आस्था राखने सबै साथीहरुलाई धैर्य राख्न अनुरोध गर्दछु।’






