नयाँ पुस्तान्तरणमा भाषा हस्तान्तरणको जरूरत

मंजु भण्डारी ,

लन्डन

बेलायतको नेपाली डायस्पोरामा भाषा, साहित्य, संस्कृति र कलालाई जिवन्त राख्नका निम्ति हामीले नयाँ पुस्तालाई भाषा हस्तान्तरण गर्न जरूरी छ। विदेशमा बस्ने र यहीँ जन्मिएका बाबालिकाहरूले नेपाली भाषा जानेनन् भने उनीहरूले भाषा मात्र होईन हाम्रो संस्कृति, सभ्यता र परम्परालाई पनि बिर्सन्छन्। हामीले जतिसुकै आधुनिकताका कुरा गरे पनि, संगीत र साहित्यका कुरा गरे पनि, आफ्नो पनको कुरा गरे पनि अर्काको भूमिमा रहेर आफ्ना पूर्खाको नासोलाई जीवन्त राख्नु ठूलो चुनौती र स्वाभिमानको कुरा रहि आएको छ। आफू र आफ्नो पहिचानलाई बिर्सियौं भने हामी जतिसुकै सम्पन्न र बैभवशाली भएतापनि एक्लो महशुश गर्नेछौं।विभिन्न परिस्थितिका कारण आफ्नो पृय जन्मभूमि छाडेर संसारका जुनसुकै कुनामा पुगे पनि म को हुँ भन्ने कुरा बिर्सियो भने बाँकी के नै रहन्छ र? आजको यस ग्लोबलाइज़ेशन युगमा विभिन्न अवसरको खोजिमा प्रवासिनेहरूकालागि यो चुनौतीको विषय बनेको छ त्यसैले भाषा, संस्कृति र समग्र आफ्नो जातिको अस्तित्व र पहिचानको जगेर्ना हाम्रो निम्ति प्रमुख विषय बन्नुपर्छ। आफूले गरेको, सिकेको, जानेको र भोगेको अनुभवलाई साहित्यको रंग दिएर हामी राम्रा सिर्जनाहरू त गर्न सक्छौं, नयाँ नयाँ अनुभवहरू पस्किन त सक्छौं तर यसरी हामीले भोगेको , अनुभव गरेको , नेपाली माटोको सुवासलाई पस्केको, नेपाली जातिको गौरवलाई साहित्यिक रंग दिएको कुरालाई कति लामो समयसम्म जिवित राख्न सक्छौं त? पहिलो पुस्तामै यी कुराहरू कुहिएर जाने त होईनन् ? हामीले गरेको साहित्य र भाषाप्रतिको लगाव यत्तिकै अन्त्य हुने त होईन ? अर्थात् दोस्रो पुस्तामा गएर सबै उपलब्धिहरू ईंग्लिस च्यानलिभत्र बिलिन भएर जाने त होईनन्? यस्ता जल्दाबल्दा प्रश्नहरूको समाधानको लागि नै नयाँ पुस्तान्तरणमा भाषा हस्तान्तरण हुन जरूरी छ। यसो गरेनौं भने हाम्रा उपलब्धिहरू सबै मरेर जानेछन्। आफ्नो अस्तित्वलाई बचाई राख्न, आफ्नो स्वाभिमानलाई बचाई राख्न जिवनको थोरै समय, थोरै श्रम यसका निम्ति खर्च गर्यौं भने निश्चय नै भोलिको पुस्ताले पनि आफ्नो देश, संस्कृति, सभ्यता, परम्परालाई सम्झिरहने छन्, माया गरिरहनेछन्। छाता संगठनको रूपमा उदाएको एनआरएनले नेपाली माटो, नेपाली परिवेश र संस्कृतिलाई जोगाउनु पर्ने आजको आवश्यकता हो। यसैका लागी हामी बेलायतमा रहेका केही नेपाली साथीहरूले नेपाली भाषा पढाउने, सिकाउने र यसलाई बिस्तार गर्न नया पुस्तालाईनै रोजेका छौं। नेपाली पनलाई नेपाल बाहिर चिनाउनका लागि, आफ्नो अस्तित्व पृथक ढंगले प्रस्तुत गर्नका लागि एनआरएनले महत्वपूर्ण भूमिका निभाउंदै आएको छ, विभिन्न सहुलियतहरू पनि उपलब्ध गराउंदै आएको छ। मलाई लाग्छ, भाषा साहित्य जगेर्नाको यस महत्वपूर्ण अभियानमा एनआरएनको संरक्षकत्व हामीलाई अपरीहार्य हुन आएको छ। हामीले बेलायतमा भाषाको विस्तार र पुस्तान्तरणमा निकै फड्को मारीसकेका छौं। यहाँका अग्रज नेपाली दाजुभाई दीदीबहिनीहरूको स्नेह र प्रेरणाले हामीलाई संधै नै ठूलो उर्जा मिलेको छ। एकातिर हामी नवीन परिवेशमा नयाँ लक्ष र चिन्तनका साथ अगाडि बढेका छौं भने अर्कातिर हाम्रो पहिचानलाई जोगाउन पनि त्यत्तिकै सजक भएर लागेका छौं। पहिचान जोगाउने एउटा ठूलो माध्यममध्धे भाषा पाठशाला पनि एक हो। भाषा पाठशाला यस्तो एउटा माध्यम हो की जसले ठूलो संख्यामा रहेका नेपाली नानीहरूको आकाँक्षा, चाहना र भाषिक प्रेमलाई शिखरमा पुर्याउन मद्दत गर्छ। हामीलाई सबैले होस्ठेमा हैंसे गरिदिनुस् हामी तन, मन, बचनले आफ्नो कर्मपथमा अगाडि बढिरहेका छौं, बढिरहनेछौं। बेलायतका ठाउं ठाउँमा भाषा कक्षाहरू सँचालन भैरहेका छन् र अझै थपिँदै जानु पनि जरूरी छ। हाम्रो यस अभियानलाई त्रिभुवन विश्वविघालयबाट पनि उचित मार्ग निर्देशन भैरहेको छ। भाषा नै हाम्रो प्राण हो, सँस्कृति हाम्रो ज्यान हो। यिनै कुराहरू जोगाउन सकियो भने हामी डायस्पोरामा बाँचेको पनि सार हुन्छ, हजारौँ वर्षसम्म नेपालीको आफ्नो अस्तित्व पराई धर्तीमा आफ्नोपन बोकेर जगमगाईरहनेछ। समाजमा पति, पत्नि र परिवार भन्दापनि राष्ट्रलाई हृदयमा बोकेर उज्यालोको गीत गाउँदै हामी हिँड्यौं भने लक्क्षमा पुग्नलाई धेरै समय कुर्नु पर्दैन!!