पृथ्वीमा छ करोड वर्षभन्दा अघिदेखि नै पेन्गुइन पक्षीको अस्तित्व

वेलिङ्टन (न्युजिल्यान्ड), १३ फागुन । पृथ्वीमा छ करोड दशलाख वर्ष अघिदेखि नै पेन्गुइन पक्षीको अस्तित्व भेटिएको एक अध्ययनबाट पत्ता लागेको छ ।

परापूर्वकालदेखि पृथ्वीमा बिचरण गर्दै आएका सबभन्दा भीमकाय जनावर भनी विश्वास र दावी गरिँदै आएको डाइनासोरको उत्पत्ति सुरु भएको युगभन्दा पनि धेरै धेरै पहिलादेखि नै पेन्गुइन पक्षीको अस्तित्व सुरु भएको रहेछ भन्ने तथ्य न्युजिल्यान्डको क्राइस्टचर्चमा मुख्यालय रहेको क्यान्टरब्युरि जीव सङ्ग्रहालयले दाबी गरेको छ ।

यसअघि यस धरतीमा डाइनासोरको उत्पत्ति भइसकेपछि मात्र पेन्गुइन पक्षीहरु उत्पत्ति भएका हुन् भन्ने मान्यता र विश्वास गरिँदै आएको थियो ।

न्युजिल्याण्डमा एउटा पेन्गुइनको हालै फेला परेको अत्यन्त पुरानो र विशाल अस्थिपन्जरको अध्ययनबाट अनुसन्धानकर्ता उक्त निष्कर्षमा पुगेका सो क्यान्टरब्युरि जीव सङ्ग्रहालयले आज खुलासा गरेको हो ।

न्युजिल्यान्डको दक्षिणी द्वीप (साउथ आइज्ल्यान्ड)को पूर्वीय खण्डःक्यान्टरब्युरि इलाकाको वाइपारा नदीको किनारामा उक्त पेन्गुइनको खुट्टाको माथिल्लो अङ्ग र पन्जाका औंलाको मक्किनै लागेको अस्थिपन्जर फेला परेको थियो ।

यस अघि, उक्त वाइपारा नदी वरपर कछुवा, विभिन्न प्रजातिका शार्क माछा, अति विशाल कायको अर्को थरीको माछा, दुई थरीका चराचुरुङ्गी, वाइम्यानु नामक पेन्गुइन जस्तै अर्कोथरीको पक्षी तथा अन्य प्राचीन पक्षी, जीव तथा जनावरका अस्थिपन्जर धरतीबाट डाइनासोर लोप भएको चालीस लाख वर्षपछि पनि सुरक्षित वा कुहिई नसकेको अवस्थामा भेटिएका सङ्ग्रहालयका वरिष्ठ क्यूरेटर कर्मचारी प्रोफसर पल स्कोफिल्डले बताएका छन् ।

हाल फेला परेको पेन्गुइनको अस्थिपन्जरको सूक्ष्म अध्ययनबाट जीवशास्त्रीहरुले सो पेन्गुइन जीवित हुँदा करिब एकसय पचास सेन्टिमिटर अग्लो र विशाल कायको हुनुपर्छ भन्ने बलियो अनुमान गरेका छन् ।

अझ नौलो तथ्यः संसार मै फेला परेका पेन्गुइनका अस्थिपन्जरमध्ये उक्त पेन्गुइनको अस्थिपन्जर अति पुरानो र करिव छ करोड दशलाख वर्ष अघिको हो ।

यसअघि, पालेओसिन प्रजातिका पेन्गुइनका पाँच करोड साठी लाख वर्षदेखि छ करोड साठी लाख वर्षबीचका पुराना र ठूल्ठूला अस्थिपन्जर फेला परिसके ता पनि यो अस्थिपन्जर भने आकारमा झनै विशाल रहेको समेत उक्त सङ्ग्रहालयको दावी छ ।

हामीले पहिले पहिले सोचे वा विश्वास गरेभन्दा अझै प्राचीन समय, अझ भनौँ इतिहासको उत्पत्तिकालभन्दा पहिलेदेखि नै पेन्गुइन यस धरतीमा आइसकेका रहेछन् भन्ने तथ्य न्युजिल्यान्डको यस अनुसन्धानबाट उजागर भएको छू जर्मनीको सेन्केन्बर्ग रिसर्च इन्स्टिच्युटका अनुसन्धान समूह प्रमुख, जीवशास्त्री डा जेराल्ड मेयरले बताए । रासस/सिन्ह्वा