काठमाडौं– सरकारले सार्वजनिक समारोह, विवाह उत्सव तथा भोजभतेरका कार्यक्रममा जाँडरक्सी खान नपाउने नियम बनाउने भएको छ ।
विवाह उत्सवलगायतका कार्यक्रममा जाँडरक्सी खान नपाइने व्यवस्था गर्ने प्रावधान रहेको ‘राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति २०७३’ मन्त्रीपरिषदले पारित गरेपछि यससम्बन्धी कानून बनाउने बाटो खुलेको हो ।
स्वास्थ्यमन्त्री गगन थापाले यससम्बन्धी ऐन बनाउने काम भइरहेको र तत्काल कार्यान्वयन गर्न निर्देशिका बनाएर अघि बढ्ने जानकारी दिनुभयो । नीतिमा बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म जाँडरक्सीको खुद्रा किनबेच गर्न नपाउने र अरु समयमा पनि फुटकर रुपमा एक दिनमा १ लिटरभन्दा बढी किनबेच गर्न नपाउने व्यवस्था गरिने उल्लेख छ ।
नीतिमा भएको व्यवस्था कार्यान्वयनका अनुगमन र कारबाही गर्न स्थानीय स्तरदेखिनै छुट्टै संजाल र संरचना निर्माण गरेर काम अघि बढाइने स्वास्थ्यमन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो ।
२१ वर्षभन्दा कम उमेरका र गर्भवतीलाई जाँडरक्सी किनबेच र सेवन गर्न निषेध गर्ने कुरा पनि नीतिमा उल्लेख गरिएको छ । सरकारले सार्वजनिक, पर्यटकीय, शैक्षिक, मनोरञ्जन, धार्मिक, ऐतिहासिक ठाउँमा पनि उत्पादन, बिक्री र खान प्रतिवन्धित गर्न सक्ने प्रावधान पनि नीतिमा राखिएको छ । स्वास्थ्य मन्त्रालयले धेरै वर्षदेखि नीति ल्याउने प्रयास गरेपनि बन्न सकेको थिएन ।






