पाँचथर, ४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन प्रमुख राजनीतिक दलबीच अनौपचारिक रुपमा सहमति बनिसकेकाले अब जसरी पनि वैशाखभित्रमा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ ।
पाँचथरको याङनाम र नागिनको सिमानामा बग्ने ‘हेवा खोला’ जलविद्युत् परियोजना ‘ए’ को आज उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो,“मङ्गलबार बेलुका र आज बिहान मात्रै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)काअध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेको छु, अब चाँडै असमझदारीका विषयमा सहमति गरेर वैशाखभित्रमा स्थानीय तहको निर्वाचन गर्ने छौँ ।”
उहाँले अब संविधान आइसकेको हुँदा अब मुलक समृद्धितर्फ लम्कने बेला आइसकेको बताउनुभयो । उहाँले मुलुकलाई समृद्धितर्फ अघि बढाउन ऊर्जा क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै यो क्षेत्रमा लाग्न सबै सरोकारवालालाई आग्रह गर्नुभयो ।






