मधेसको विखण्डनको कुरा सहन सकिंदैन: गृहमन्त्री

जनकपुरधाम, २४ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले देश मधेसको विखण्डन गर्ने कुरा अनावश्यक, अनर्गल र औचित्यहिन भएको बताउनुभएको छ ।

उहाँले सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनुषाको नवनिर्मित भवनको आज जनकपुरधाममा उद्घाटन गर्दै उक्त कुरा बताउनुभएको हो ।

उपप्रधानमन्त्री निधिले आन्दोलनको दुरूपयोग गरेर कसैले राष्ट्रिय अखण्डतालाई बिथोल्न खोजेमा सरकार चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।

उहाँले मधेस नेपालको हो, मधेसी भू–भाग नेपालको हो भन्ने भावनाविपरीत कसैले खण्डित गर्ने कुरा गरेमा सरकार सहन सक्दैन भन्नुभयो ।

हिमाल, पहाड र मधेस नेपालको हो भन्ने भावनाविपरीत प्रतिगमन शक्ति, उग्रवादी र उग्रवामपन्थी शक्ति उद्यत् रहेकाले सोप्रति सजग हुनु जरूरी भएको धारणा उहाँले राख्नुभयो ।

उहाँले संविधान संशोधन गरी ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्नु सबैको जिम्मेवारी भएकाले आगामी माघ ७ गतेसम्म स्थानीय, प्रदेश र सङ्घीय संसद्को निर्वाचन गरिसक्नुपर्ने खाँचो औँल्याउनुभयो ।