शाहरुख खानको ‘रइस’ प्रचारको क्रममा एकको मृत्यु

बलिउड अभिनेता शाहरुख खान आफ्नो नयाँ फिल्म ‘रइस’ को प्रचारका लागि जहाँ गएका थिए, त्यहाँ एकको मृत्यु भएको छ। शाहरुख रेल चढेर वडोदरा स्टेसनमा पुगेपछि त्यहाँ भागदौड मच्चिएको थियो। यही भागदौडमा एकको मृत्यु भएको छ भने दुई प्रहरी र अन्य दुई सर्वसाधारण गरी चार जना बेहोश पनि भएका छन्।
आफ्नो फिल्मको प्रचारका लागि रेलमा यात्रा गरेका शाहरुख राती साढे १० बजेतिर वडोदरा स्टेसनमा पुगेका थिए। शाहरुखका फ्यानहरु उनलाई हेर्न भिड जमाएर बसेका थिए। करिब १० मिनेट उनी उक्त स्टेसनमा रोकिएका थिए। यसैबीच उनका फ्यानले रेलको झ्यालको सिसा ठोक्न थालेपछि प्रहरीले लाठी चार्ज गरेको थियो।लाठीचार्ज सुरु भएपछि भागदौड मच्चिएको र त्यसैमा एक जनाको मृत्यु भएको भारतीय समाचारमाध्यमले जनाएका छन्।
मृत्यु हुने व्यक्ति आफ्नी पत्नी र छोरीको साथमा त्यहाँ आएका र उनको नाम फरीद भएको बताइएको छ।
शाहरुखले घटना र फरीदको मृत्युमा समवेदना प्रकट गरेका छन्। उनी वडोदरा स्टेसनमा क्रिकेटर युसुफ र इरफान पठानलाई भेट्न भनेर रोकिएका बताइएको छ।