संविधान संशोधन प्रस्ताव फिर्ता नभए सरकार ढल्छः केपी ओली

काठमाडौं–प्रमुख प्रतिपक्षी दल एमालेले संविधान संशोधन प्रस्ताव फिर्ता नलिए सरकार अप्ठयारोमा पर्ने प्रतिक्रिया दिएको छ ।
पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सर्वोच्च अदालतले संविधान संशोधन प्रस्ताव संसदबाट पारित भएपनि बदरभागी हुने आदेश दिएकाले फिर्ता लिँदा मात्रै सरकारलाई पनि सहज हुने सुझाव दिएका हुन् ।

सर्वोच्चले सोमबार दिएको फैसलापछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेता ओलीले अदालतको फैसलाले सरकारलाई संविधान संशोधन प्रस्ताव फिर्ता लिन सहज बाटो खोलिएको बताए ।

अध्यक्ष ओलीले भने, ‘सर्वोच्च अदालतको आदेशमा प्रदेशको सिमांकन सम्बन्धि प्रस्ताव संसदबाट पास भएपनि त्यो असंवैधानिक कदम हुने र बदरभागी हुने भनेकाले सरकारले प्रस्ताव फिर्ता लिएर सहज बाटो रोज्नु नै राम्रो हो ।’

अध्यक्ष ओलीले सर्वोच्च अदालतको आदेशले संविधान संशोधनको सम्बन्धमा आफनो पार्टीले लिएको दृष्टिकोण, रणनीति र कदम सहि रहेको पुष्टि गरेको दावी पनि गरे ।

उनले भने ‘राजनीतिक र संवैधानिक दुवै रुपमा आफूहरुको अडान सही रहेको पुष्टि भएको छ । यस अनुसार अघि बढदा नै राष्ट्र र जनताको हित हुन्छ ।’