काठमाडौँ – नेपाललाई अन्तर्राष्ट्रिय उडानका लागि थप एयर रुट दिन भारत सरकार सैद्धान्तिक रूपमा सहमत भएको छ । दुवै देशका नागरिक उड्डयन मन्त्रालयका अधिकारीबीच मंगलबार नयाँदिल्लीमा सुरु भएको वार्तामा भारतले नेपाललाई थप एयर रुट दिन सैद्धान्तिक रूपमा सहमति जनाएको हो ।
दुई देशबीच थप एयर रुट तथा अन्य उड्डयन विषयमा छलफल भइरहेको छ । वार्ताको नेतृत्व नेपालका तर्फबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य र भारतका तर्फबाट उड्डयन मन्त्रालयका सहसचिव अरुण कुमारले गरेका थिए । वार्ता बुधबारसमेत चल्ने छ ।
हाल सिमराको रुटबाट मात्र अन्तर्राष्ट्रिय जहाजहरू नेपाल भित्रिने गरेका छन्, जसका कारण नेपालले एयर ट्राफिकको समस्या झेलिरहनु परेको छ । नेपाली टोलीले जनकपुर, भैरहवा, नेपालगन्ज र महेन्द्रनगरबाट पनि नेपाललाई अन्तर्राष्ट्रिय एयर रुटहरू दिन भारतलाई आग्रह गरेको छ । वार्तामा सहभागी एक नेपाली अधिकारीका अनुसार भारतले जनकपुरबाट तत्काल एयर रुट दिन सकिने सकिने जनाए पनि अन्य रुटका सम्बन्धमा भने थप प्राविधिक आन्तरिक छलफल आवश्यक पर्ने अवगत गराएको छ ।






