ओली–अमेरिकी राजदूत भेट, एमालेले संशोधन प्रस्तावको विरोध गरेकोमा चासो

काठमाडौं–अमेरिकाले संविधान संशोधन प्रस्तावको पक्षमा वकालत गरेको छ ।
अमेरिकी राजदुत अलाईना बी टेप्लिजले प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी ओलीसँग भेट गरी संविधान संशोधन प्रस्तावको विरोध गर्नुपर्ने कारणबारे चासो व्यक्त गरेकी हुन् ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा राजदुत अलाईनाले संविधान संशोधन प्रस्तावको विरोधमा संसद अवरुद्ध भइरहेको तर्फ अध्यक्ष ओलीको ध्यानाकर्षण समेत गराइन् ।

संविधान संशोधन प्रस्तावको विरोधमा एमालेले निरन्तर ससंद अवरुद्ध बनाईरहेका बेला अमेरिकी राजदुत अलाईनाले विपक्ष दलका नेता ओलीसँग भेट गरेकी हुन् ।
भेटमा अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव जनता र राष्ट्रको हित विपरित आएकाले विरोध गर्नुपरेको बताएका थिए ।
उनले अदालतमा प्रवेश गराइएको विषयलाई सरकारले संसदमा प्रवेश गराएर अदालतको समेत मानहानी गरेको समेत राजदूतलाई बताएका थिए ।
राजदुतले संविधान संशोधन प्रस्तावको विरोध गर्नुको कारणबारे चासो व्यक्त गर्नु भएको भेटमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
उनले नेपालको समस्या नेपालीहरुले नै मिलेर समाधान गर्न समक्ष रहेकोतर्फ पनि राजदुत अलाईनालाई सचेत गराइएको बताए ।

एमालेले संविधान कार्यान्वयनका लागि सबै खालको सहयोग गर्ने तत्परता देखाएपनि संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म संसदमा जारी अवरोध कायमै राख्ने अडान लिँदै आएको छ । संविधान कार्यान्वयनका लागि आफूहरु प्रतिवद्ध रहेको दोहो¥याउँदै अध्यक्ष ओलीले संविधान संशोधनको पक्षमा भने जान नसकिने प्रष्टयाउँदै राजदुत अलाईनाको पटक पटक ध्यानाकर्षण गराएका थिए ।
नेपालको पछिल्लो राजनीतिक परिस्थितिलाई लिएर युरोप र अमेरिकन राजदुतहरुले नेताहरुसँगको भेटवार्तालाई तीव्रता दिँदै आएका छन् ।