काठमाडौं– राष्ट्रिय जनता पार्टी, नेपालले एक हप्ता भित्र पार्टी संसदीय दलको नेतासहितका पदाधिकारी चयन गर्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले एक हप्ताभित्र दलको नेतासहितका पदाधिकारी चयन गरिसक्ने निर्णय गरेको हो ।

बैठकले पार्टी संसदीय दलको विधानलाई टुंगो लगाउन भोली (मंगलबार) दिउँसो १२ बजेसम्म सांसदहरुलाई आवश्यक सुझाव दिने समयसीमा पनि तोकि दिएको छ ।

संसदीय दलको विधानको मस्यौदालाई अन्तिम रुप दिने वित्तिकै दलको नेतासहितका पदाधिकारी चयनको काम सुरु गर्ने कार्यतालिका पनि बैठकले तय गरेको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए ।
बैठकमा संसदमा पार्टीको भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयलाई पनि प्रवेश गराइएको थियो ।

त्यससम्बन्धमा प्रारम्भिक छलफल भएपनि विस्तृत छलफल भने दलको नेतासहितका पदाधिकारी चयन भएपछि गर्ने निष्कर्ष पनि निकालिएको नेता यादवले बताए ।

आईतबार बसेको पार्टीको अध्यक्ष मण्डल बैठकले संविधान संशोधन गर्नका लागि सरकारलाई दवाव दिने निर्णय गरेको थियो ।

फेसबुक कमेन्ट