अनुहारको चाया हटाउने घरेलु तरिका

चायाको समस्या पुरुषमा भन्दा महिलामा बढी देखिन्छ । अनुहारमा आउने चायाले सौन्दर्यमा सीधा असर पार्छ । तर, घरमै केही समय छुट्याएर छालाको केयर गर्न सके चायाबाट मुक्ति मिल्छ भन्दै ब्युटिसियन हेनसन शाक्यले तीन तरिका सिकाएकी छिन् ।

  • केही पत्ता कालो तुलसीको रसमा थोरै मह र तीन–चार थोपा कागतीको रस मिसाएर प्याक तयार पार्ने । यो प्याकलाई राति सुत्नुअघि लगाएर २० मिनेटपछि पखाल्ने । यो प्याक नियमित लगाउँदा चायाको समस्या भएकालाई फाइदा गर्छ ।
  • एक चम्चा काचो दूध, आधा चम्चा कागतीको रस, आधा चम्चा गोलभेंडाको रस र पाउरोटीको सेतो भाग मिसाएर प्याक तयार गर्ने । राति सुत्नुअघि यो प्याक अनुहारमा लगाएर २० मिनेटपछि पखाल्ने । नियमित यसो गर्दा चायाबाट राहत मिल्छ ।
  • ठूलो एक चम्चा मुगीको दाल, सानो एक चम्चा दही, अन्डाको सेतो भाग र पहेंलो भाग दुई चम्चा, आधा भाग कागतीको रस, आधा चम्चा मह तथा एक चिम्टी बेसार मिसाएर प्याक बनाउने । सुत्नुअघि अनुहारमा लगाएर २० मिनेटपछि पखाल्ने । नियमित प्याक लगाउँदा केही दिनमा चाया हट्छ ।