सङ्घीयता खारेज गर्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री दाहाल

चितवन, २ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै न कुनै रुपले सङ्घीयतालाई खारेज गर्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घको नवौँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले वर्तमान सरकारले चालेको कदमलाई साथ नदिए देशमा ठूलो राजनीतिक दुर्घटना हुने खतरा रहेको बताउनुभयो ।

सङ्घीयताले देश टुक्राउँछ, सङ्घीयताले जनताको बीचमा फाटो पार्छ भन्ने एउटा पुरानो एकात्मक सामन्ती सिद्धान्तलाई सिरानीमा राखेर यो परिवर्तनको मुद्दालाई उल्ट्याउने कोसिस भइरहेको उहाँले बताउनुभयो । जनजातिलाई अपिल गर्दै उहाँले भन्नुभयो – “सङ्घीयता खारेज गर्नुपर्दछ, यो जनजाति, मधेसी, दलितका लागि हो भन्ने हल्ला भइरहेको छ । मैले धेरै भनिरहनु पर्दैन, त्यो कोसिस भइरहेको छ ।”

प्रधानमन्त्री दाहालले थप्नुभयो – “सङ्घीयता खारेज गर्ने प्रयत्न ठूलै पार्टीका ठूलै नेताले खुलेआम भन्न थालेका छन् ।” उहाँले आजभोलि मिडियामा समेत सङ्घीयता नै खारेज गरिदियो भने त खेलै खत्तम भन्ने प्रचारसमेत उनीहरुबाट हुन थालेको बताउनुभयो ।