काठमाडौँ, १९ मङ्सिर । सरकारसँग बाह्रबुँदे सम्झौता भएपछि २२ दिनको आमरण अनशनमा बस्नुभएका चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जका प्रा डा गोविन्द केसीले आइतबार अनशन तोड्नुभएको छ ।
दसौँ पटक आमरण अनशनमा बस्नुभएका उहाँको यो सबैभन्दा लामो अवधिको अनशन हो । उहाँले आफ्ना शुभेच्छु र सञ्चारकर्मीबीच भूकम्पमा परी आमा गुमाएका सिन्धुपाल्चोकका अढाइवर्षीया मर्साङ तामाङको हातबाट जुस पिएर अनशन तोड्नुभएको हो ।
अनशन तोडेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रा डा केसीले आफ्नो लडाइँ व्यक्तिविशेषका लागि नभई समग्र चिकित्सा शिक्षा र चिकित्सा सेवाको सुधारका लागि भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ राजनीतिक भागबन्डाका कारण उपकुलपतिलाई जोगाइराखेका छन् । उहाँको योग्यताको छानबिन गर्ने विषयमा सहमति भएको छ । यदि छानबिन नभए भने फेरि लड्न सक्ने अवस्था आउन सक्छ ।’’
उहाँले देश संविधान सशोधनको विषयले अशान्त भइरहेका बेलामा आफू अनशनमा बसिरहन सान्दर्भिक नभएकाले अनशन तोड्नुपरेको बताउनुभयो । उहाँले त्रिवि उपकुलपतिले राजीनामा दिनैपर्ने उल्लेख गर्दै सहमतिको कार्यान्वयन नभएसम्म आफ्नो लडाइँ कायम रहने स्पष्ट पार्नुभयो ।
अनशनका क्रममा उहाँको स्वास्थ्य गम्भीर रहेकाले आजदेखि नै उहाँलाई थप उपचारका लागि सघन उपचार कक्षमा भर्ना गरिएको छ ।






