बेलायत अर्को वर्षमात्रै ईयूसँग छुट्टिने

लन्डन– बेलायतका प्रधानमन्त्री टेरेसा मेले बेलायत युरोपियन युनियन (ईयू)बाट बहिर्गमनको औपचारिक प्रक्रिया अर्को बर्षको अप्रिलपछि मात्र सुरु हुने बताएकी छन् ।

बेलायतका महारानी गर्नु हुने आगामी सम्बोधनको बेलामा बेलायत युरोपियन युनियनभित्र रहेको कानुनलाई उल्टाइने नयाँ विधयेक ल्याइने मेले बताइन् ।

कन्जरभेटिभ पार्टीको वार्षिक सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएकी हुन् ।

बेलायत युरोपियन युनियनमा बसिरहने कि बाहिरिने भन्ने विषयमा गत जुन २३ मा जनमत संग्रह भएको थियो । सो जनमत संग्रहले युरोपेली सङ्घछोड्ने जनादेश दियो र औपचारिक रुपमा बेलायतले बाहिरिने घोषणा पनि गर्‍यो । तर यसको औपचारिक प्रक्रिया भने सुरु भएको थिएन ।

यो जनमतसँगै तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नो रायको विपक्षमा भएको मतदानको कारण आफनो पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

बेलायतका ५२ प्रतिशत नागरिकले बेलायतलाई युरोपियन युनियनबाट निस्किने जनमत दिएपछि ४८ प्रतिशतले युरोपियन युनियनमा बसिरहने निर्णय गरेका थिए ।