लन्डन– बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदी बुधबार लन्डन आएका छन् । राजदूत सुवेदी राति १२ बजे टर्मिनल फोरमा उत्रिएका थिए । राजदूत दम्पत्तिलाई विमानस्थलमा बेलायती विदेश मन्त्रालयका विशेष प्रतिनिधि निकोलस ज्यारोल्ड, कार्यवहाक राजदूत शरदराज आरन, थर्ड सेक्रेटरी भूपेन्द्रप्रसाद घिमिरे, अट्याची तेजेन्द्र रेग्मी लगायतले स्वागत गरेका थिए । झन्डै अढाइ वर्षपछि लन्डन दूतावासले राजदूत पाएको हो ।
संसदीय सुनुवाईपछि राष्ट्रपतिले नियुक्ति दिएपछि सुवेदी कार्यक्षेत्र आएका हुन् । बेलायती विदेश मन्त्रालय (एफसीओ) मा क्रेडेन्सियल बुझाएपछि औपचारिक रुपमा उनले मिसन सम्हाल्नेछन् । महारानीलाई ओहोदा बुझाउने कार्यक्रम भने एफसीओले नै पछि तय गर्नेछ ।
वि. सं. २०४४ सालमा अधिकृतका रुपमा परराष्ट्र सेवा थालेका सुवेदीले झण्डै तीन दशक अवधिमा परराष्ट्रका विभिन्न निकाय र मिसनमा रहेर काम गरिसकेका छन् ।उनी साहित्यमा दुबसु क्षेत्रीका नाममा चिनिन्छन् ।






