लन्डनमा उपेन्द्र यादवले भने, ‘गोर्खा सैनिकले दोहोरो नागरिकता र समान पेन्सन पाउनुपर्छ’

लण्डन– संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले पूर्व गोर्खा सैनिकहरुले दोहोरो नागरिकता पाउनु पर्ने बताएका छन् ।

नेपालको नयाँ संविधानमा पूर्व गोर्खा सैनिकको लागि नागरिकताको प्रावधान नभएकोप्रति टिप्पणी गर्दै यादवले उनीहरुलाई नेपाली नागरिकता दिइनु पर्ने बताए । यूरोप भ्रमणमा रहेका यादवले पूर्व गोर्खा सैनिकले समान पेन्सन पनि पाउनु पर्ने आवाज उठाएको कार्यक्रममा सहभागी नेफेसो लण्डनका महासचिव विश्वदीप तिलेगाले जनाएका छन् ।

लण्डनको अल्डरसटमा शनिबार गोर्खा पूर्व सैनिक संघको वार्षिक भेलालाई सम्बोधन गर्दै दोहोरो नागरिकता र समान पेन्सनको व्यवस्था हुनु पर्ने बताएका हुन् । ‘पूर्व गोर्खा सैनिकहरू विशेष कूटनैतिक सम्बन्धका कारण यूकेमा रहेकाले गोर्खाहरूले दोहोरो नागरिकता पाउनु पर्छ’– कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने,– ‘गोर्खा सैनिकहरुमाथि विभेद हुनु हुँदैन, उनीहरुले अरु सरह नै समान पेन्सन र सुविंधा प्राप्त गर्नुपर्छ ।’

नेपाल आदिवासी जनजाति महासंघ यूकेले शनिबार नै फोरम नेपालका अध्यक्ष यादव र प्रवास विभाग प्रमुख आङकाजी शेर्पाको सम्मानमा विशेष कार्यक्रम आयोजना गरेको छ । संघीय समाजवादी फोरम नेपालको प्रवास भ्रातृ संगठन नेपाली संघीय समाज बेलायतको निमन्त्रणामा असोज ६ गते अध्यक्ष यादव र शेर्पा लण्डन पुगेका छन् ।

यादवले आइतवार अल्डरसटको एम्पायर हलमा आयोजना हुने समाजको दोस्रो अधिवेशनको उदघाटन गर्ने कार्यक्रम छ । एक साता लामो बेलायत भ्रमण क्रममा बेलायती सरकारी अधिकारी तथा राजनीतिक दल, विभिन्न संघसंस्थासँग अन्तर्क्रिया गर्नेछन् ।

असोज ९ गते लण्डनमा सम्पन्न हुने नेफेसोको महाधिवेशन सम्पन्न गरे लगत्तै अध्यक्ष यादवले यूरोपको अन्य देशहरु भ्रमण गर्ने कार्यक्रम रहेको छ । लण्डनपछि यादवले बेल्जियम र पोर्चुगलमा पार्टीको भ्रातृ संगठनहरुले आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नेछन् ।