भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायविरुद्व तीन उजुरी

काठमाडौं–भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायविरुद्ध तीन वटा उजुरी परेका छन् ।

संसदीय सुनुर्वाइ विशेष समितिले उजुरीका लागि दश दिनको समय दिएकोमा त्यो अवधिमा उपाध्यायविरुद्ध तीन वटा उजुरी परेका हुन् ।
तीन वटै उजुरी इमेलमार्फत प्राप्त भएको समितिले जनाएको छ । उजुरीमा अघिल्लो सरकारले फिर्ता बोलाएका उपाध्यायलाई पुनः राजदूत नियुक्त गर्न नहुने र उपाध्याय राजदूतका लागि योग्य नरहेको उल्लेख छ ।
भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा नाकाबन्दी हटाउनका लागि राजदूतका रुपमा उपाध्यायले प्रभावकारी भूमिका नखेलेको बरु उल्टै सरकार ढाल्ने षड्यन्त्रमा लागेको आरोप पनि उजुरीमा लगाइएको छ ।
समितिले उपाध्यायविरुद्ध परेका तीन वटै उजुरी बुधबार समितिका सदस्यहरुलाई वितरण गरेको छ ।

यस्तै, चीनका लागि प्रस्तावित राजदूत लिलामणि पौडेलका विरुद्ध भने एउटै उजुरी परेको छैन ।

समितिको बुधबारको बैठकले न्याय परिषद्को सदस्यमा प्रस्तावित रामप्रसाद सिटौलाका विरुद्धमा १० दिनको समयसहित उजुरी आव्हान गर्ने निर्णय गरेको छ ।

सिटौला यसअघि पनि न्याय परिषद्को सदस्यमा सिफारिस भएकोमा अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सिटौलाको नाम सुनुवाई हुनु पहिले फिर्ता लिएका थिए । सिटौला यसपटक नेपाल बार एशोसियशनका तर्फबाट न्याय परिषद्को सदस्यमा सिफारिस भएका हुन् ।