प्याबसन अध्यक्ष भन्छन्, ‘बम विस्फोट गराउने समूहको नामै सुनेका थिएनौं’

काठमाडौं – प्याबसनका अध्यक्ष लक्ष्यबहादुर केसीले आज विहानैदेखि उपत्यकाका विभिन्न स्कूलमा भएको बम विस्फोटले अन्य स्कूलका विद्यार्थी तथा अभिभावकहरु आतकिंत भएको बताएका छन् ।

उनले विहान विभिन्न विद्यालयमा घटनाहरु भए पनि स्थितिलाई सामान्य बनाउन र अभिभावकलाई थप आतंकित नबनाउन प्याबसनले स्कूलहरु नियमित रुपमा संचालन गर्ने निर्णय गरेको जानकारी दिए ।

मंगलबार बिहान राजधानीका दुई विद्यालयमा बम विस्फोट भएको थियो भने विभिन्न विद्यालयमा बम फेला परेका थिए ।

‘कतिपय स्कूलले त आज विद्यालय बन्द गर्ने हो कि भनि सोधेका थिए,’ उनले भने, ‘तर हामीले होइन, स्कूल बन्द गरेपछि अभिभावकहरु झन् आतकिंत हुने भएकाले विद्यालय बन्द नगरी स्कूल सञ्चालन नै गर्न भनेको छौं । विहान हुने कतिपय स्कूलको एसम्बेली समेत भएको छैन ।’

सडक छेउ तथा खुल्ला ठाउँहरुमा रहेका स्कूल भन्दा गल्ली र एकान्तमा रहेका स्कूलहरुमा बढी त्रास देखिएको बताउँदै उनले डर त्रास बिना आवश्यक सावधानी अपनाएर स्कूल सञ्चालन गर्न निर्देशन दिएको बताए ।

एक जिज्ञासामा उनले यसअघि यो समूहको नाम समेत नसुनेको तथा कहिले चन्दा सहयोग पनि माग्न नआएको प्रतिकृया दिए ।

शिक्षा जस्तो क्षेत्रमा यस्तो त्रास फैलाउनेलाई सरकारले तत्काल कारवाही गर्नुपर्ने र शिक्षा क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने उनले माग गरे ।