काठमाडौं– तमलोपा अध्यक्ष महन्थ ठाकुरको छोरी डा मिनाक्षीको आँखामा खुर्सानीको धुलो छर्केर अटैंची बोकेर भागेकाहरुबारे चार दिनदेखि अनुसन्धान जारी रहेपनि प्रहरीले कुनै सफलता पाउन सकेको छैन ।
गएको शुक्रवार भक्तपुरको सानोठिमीस्थित निवासमा ‘महन्थ ठाकुरलाई भेट्नु छ’ भन्दै प्रवेश गरेका पाँच जनाले खुर्सानीको धुलो फ्याँकेर मिनाक्षीलाई खुकुरी प्रहार गर्दै अटैंची बोकेर भागेका थिए ।
त्यसयता महानगरीय प्रहरी वृत ठिमी र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले घटनाबारे अनुसन्धान जारी राखेपनि हालसम्म कुनै उपलब्धि नभएको पाइएको छ ।
‘थप केहि आएको छैन’ महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी किरण बज्राचार्यले भनिन्, ‘करीब आधा दर्जन सन्दीग्धहरुसँग सोधपुछ गरेका छौं, अनुसन्धान भइरहेको छ ।’
घटना घटेको दिनदेखिनै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले यो घटनामाथि महत्त्व दिएर अनुसन्धान गरिरहेको छ । तर पनि चोरहरुको को थिए भन्ने पत्ता लगाउन सकेको छैन । ‘मान्छे यकिन भैसकेका छैनन्’ अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, ‘हेर्दै छौं, रिजल्ट आइसकेको छैन ।’
स्रोतका अनुसार दुई जना संदीग्धलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
लुटिएको अटैंचीमा पचास हजार नगद र ठाकुरको किताब !
ठाकुरको घरबाट लुटिएको कालो रंगको अटैंचीमा चालीस देखि पचास हजार नगद भएको परिवार स्रोतले भनाई छ । प्रहरीलाई ठाकुर परिवारले दिएको जानकारी अनुसार कति पैसा थियो भन्नेबारे महन्थ ठाकुर पनि यकिन छैनन् । पैसा बाहेक दराजको साँचो र तमलोपाका केही डकुमेन्ट अटैंचीमा थिए ।
‘ठाकुरले पढ्ने गरेका केही पुस्तक पनि अटैंचीमा थियो भनेर उहाँहरुले भन्नुभएको छ’ महानगरीय प्रहरी वृत ठिमीका डिएसपी श्यामबावु ओलियाले भने, ‘बाँकी केही पैसा र पार्टीका डकुमेन्टहरु भएको खुल्न आएको छ ।’
शुक्रवार साँझ चोरी हुँदा ठाकुर प्रधानमन्त्रीसँग बैठक बसिरहेका थिए । घरमा छोरी मिनाक्षी र खाना पकाउने एक जना केटा मात्रै थिए ।






