पोखरा, २६ भदौ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले विधि र अनुशासनका आधारमा अगाडि बढ्ने हो भने नेपालको खेलले अन्तर्राष्ट्रिय पदक जित्नसक्ने बताउनुभएको छ ।
नेपाल कराते महासङ्घको आयोजना तथा सितोरियो कराते सङ्घ कास्कीको व्यवस्थापनमा भएको पाँचौँ राष्ट्रिय रेफ्री सेमिनार तथा रिफ्रेसमेन्ट कार्यक्रम आइतबार पोखरा रङ्गशालामा उद्घाटन गर्दै उहाँले खेलकुदमा राजनीति गर्न नहुने बताउनुभयो ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रको ढुकुटी रित्याएर खेलाडीभन्दा व्यवस्थापकीय टिमको बढी सहभागिता देखिएमा मन्त्रालयले स्वीकृति नदिने बताउँदै उहाँले त्यसका लागि खेलाडी उच्च मनोबलसहित सङ्गठित भएर लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेपालमा हुने तेह्रौँ सार्कस्तरीय खेलकुदमा सफलता प्राप्त गर्नका लागि आधारशीला तयार गर्ने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता औद्योगिक नगरी विराटनगरमा तोकिएकै समयमा हुनेगरी तयारी भइरहेको उहाँले सो अवसरमा जानकारी दिनुभयो ।
खेलकुदको प्रचुर सम्भावना रहेको पोखरामा पनि सार्कस्तरीय खेलकुदअन्तर्गतका केही प्रतियोगिता सञ्चालन गरिने जानकारी दिँदै मन्त्री श्रीपाइलीले पोखरा रङ्गशालाको भौतिक निर्माणका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।






