काठमाडौँ- सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले सरकारले दिएको जिम्मेवारीलाई आत्मसात् गर्दै जनताको आवश्यकताअनुरुपको विकासको काम गर्ने बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) सङ्घीय जनसम्पर्क मञ्च पालुङ्टार गोरखाद्वारा यहाँ आज आयोजित सम्मान तथा बधाई कार्यक्रममा मन्त्री पाण्डेले आफूले मन्त्री पद सम्मालिरहँदा सहिदले देखाएको बाटोमा कटिबद्ध हुँदै निरन्तर रुपमा जनताको आवश्यकताअनुरुपको विकासको काममा समय खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“जति समय मन्त्री पदमा रहिन्छ, जनताको आशा अपेक्षालाई काम गरेर विश्वासमा परिणत गर्छु”– मन्त्री पाण्डेले भन्नुभयो । संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन अत्यावश्यक रहेको बताउँदै उहाँले भूकम्पपीडितको समस्या समाधान, आर्थिक समृद्धि नै वर्तमान सरकारको प्राथमिकतामा परेकाले सोहीअनुरुप काम गरिने उल्लेख गर्नु भयो ।
सङ्घीय जनसम्पर्क मञ्चकी अध्यक्ष निर्मला मल्लले मन्त्री पाण्डेलाई कुनै एक व्यक्ति र समुदायका लागि होइन आम नेपाली नागरिकका लागि सामूहिक रुपमा विकासको काम गर्न अनुरोध गर्नुभयो ।






