भारतले नेपालमा शान्ति, स्थिरता र विकास भएको हेर्न चाहेको छः मुखर्जी

pranabकाठमाडौँ, ३ भदौ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले भेटघाट गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा भारत जानुभएका उपप्रधानमन्त्री विमलेन्द्र निधिले नयाँ दिल्लीमा राष्ट्रपति मुखर्जीसँग भेटवार्ता गर्नुभएको निधिका स्वकीय सचिव विश्वास विक्रमले जानकारी दिनुभयो । सो अवसरमा राष्ट्रपति मुखर्जीले भारतले सदैव नेपालमा शान्ति, स्थिरता र विकास भएको हेर्न चाहेको बताउनुभएको थियो ।

भेटमा उपप्रधानमन्त्री निधिले नेपालका राष्ट्रपतिका तर्फबाट भारतीय राष्ट्रपतिलाई पठाउनुभएको नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभएको थियो । साथै राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणका बारेमा समेत कुराकानी भएको थियो । यसअघि राष्ट्रपति भण्डारीको भारत भ्रमण अन्तिम समयमा स्थगन भएको थियो ।

दिनभरको उच्चस्तरीय भेटघाट र छलफलमा भारतीय उच्च अधिकारीले उपप्रधानमन्त्री निधिलाई नेपाल सरकारले संविधान संशोधन र मधेसीका माग सम्बोधन सम्बन्धमा गरेका कार्यको प्रशंसा गर्नुभएको स्वकीय सचिव विक्रमको भनाइ छ ।

उपप्रधानमन्त्री निधिसँग भारतीय अधिकारीहरुको भेटघाट र उच्चस्तरको छलफलपछि निकट भविष्यमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालको भारत भ्रमण तथा भारतीय राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे छलफल भएको स्वकीय सचिव विक्रमले बताउनुभयो ।