प्रधानमन्त्रीको शपथ हुँदै, सानो मन्त्रिपरिषद् पनि बन्ने

prachanda73काठमाडौं- नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको शपथ बिहीबार हुने भएको छ ।

दाहाललाई बिहीबार दिउँसो ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

यसैबीच कांग्रेस र माओवादीबीच बिहीबार नै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी भएको छ । मन्त्रालयको भागबन्डा टुंगिए पनि मन्त्री छान्न पार्टीभित्रको आन्तरिक गृहकार्य नभएको कारण जनाउँदै सानो आकारको बनाउने तयारी गरिएको हो ।

कांग्रेसले पार्टीका तर्फबाट विमलेन्द्र निधिको नेतृत्वमा तीन सदस्य पठाउने तयारी गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा नेतृत्वसहित तीन जनालाई सरकारमा पठाउन लागेको आफू निकट नेतालाई जानकारी गराए पनि निधिबाहेक अरूको नाम तय गरिसकेका छैनन् ।

पहिलो चरणमा कांग्रेसबाट अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, रमेश लेखकमध्येबाट मन्त्री बन्ने सम्भावना छ । निधिलाई उपप्रधानमन्त्री बनाएर नेतृत्वमा पठाइने भएपछि केसीले आफूले गृह मन्त्रालय पाउनुपर्ने दाबी गरेका छन् । तर, देउवा निधिलाई गृहसहित नेतृत्वमा पठाउने तयारीमा छन् । केसीलाई स्थानीय विकास र कोइरालालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने मनस्थितिमा देउवा छन् । परराष्ट्र नपाएमा आफू सरकारमै नजाने धारणा कोइरालाले राखेका छन् ।

माओवादी केन्द्रको बिहीबार बिहान बस्ने हेडक्वार्टर बैठकले आफ्नो पार्टीबाट मन्त्रीमा जानेहरूको नाम छनोट गर्ने भएको छ । पहिलो चरणमा माओवादीबाट मन्त्री हुनेमा कृष्णबहादुर महरा, जनार्दन शर्मा, राम कार्की, हितराज पाण्डे, प्रभु साहलगायतको नाम चर्चामा छ ।

महरालाई उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने नवनिर्वाचित प्रधानमन्त्री दाहालको तयारी छ ।