काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार मुलुकको ३९ औं प्रधानमन्त्री निर्वाचित हुँदैछन् ।
मंगलबार बिहान ११ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएकोमा दाहालकोमात्रै उम्मेदवारी परेपछि उनी निर्वाचित हुने निश्चितप्रायः छ । प्रस्तावक कांग्रेस सभापति शेरबहादुर देउवासहित संसद् भवन नयाँ बानेश्वर पुगेर दाहालले उम्मेदवारी दर्ता गराएका हुन् ।
संसद् नियमावलीअनुसार प्रधानमन्त्री पदका लागि एक मात्रै उम्मेदवारी परे पनि अन्य पदमा जस्तो निर्विरोध घोषणा हुँदैन । एक मात्रै उम्मेदवारीको अवस्थामा प्रस्तावको पक्ष/विपक्षमा मत विभाजन (सांसदको वर्णानुक्रमअनुसारको नामावलीमा हस्ताक्षर गर्ने) प्रक्रिया अपनाइन्छ ।
संसदको दोस्रो ठूलो दल एमाले र केही साना दलले विपक्षमा मतदान गर्ने निर्णय गरे पनि दाहालको पक्षमा सहज बहुमत देखिएको छ । पहिलो संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको तत्कालीन माओवादी र तेस्रो दल एमालेको गठबन्धनका तर्फबाट २०६५ भदौमा दाहाल पहिलोपटक प्रधानमन्त्री निर्वाचित भएका थिए । त्यसको नौ महिनापछि नेपाली सेनाका तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवालको विवादास्पद बर्खास्ती प्रकरणमा उनले २०६६ वैशाख २१ मा पदबाट राजीनामा दिएका थिए ।
प्रधानमन्त्रीबाट नौ महिनामै बाहिरिएको नौ वर्षपछि उनी पुन: नौ महिनाका लागि प्रधानमन्त्री हुन लागेका हुन् । प्रधानमन्त्री केपी ओलीविरुद्ध सदनमा अविश्वास प्रस्ताव दर्ता गर्नुअगावै कांग्रेस र माओवादीबीच सत्ता समीकरण निर्माणका लागि भएको सहमतिमा दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले नौ/नौ महिना सरकारको नेतृत्व गर्ने सहमति गरेका छन् ।
संविधानसभाबाट रूपान्तरित भएर बनेको संसदमा अहिले ५९५ (दुई निलम्बितसमेत) सदस्य छन् । दाहालले प्रधानमन्त्री निर्वाचित हुन २ सय ९८ सदस्यको समर्थन प्राप्त गर्नुपर्छ । दाहालको पक्षमा कांग्रेस (२०७), माओवादी (८०, सभामुखले मतदान नगर्ने, एक निलम्बित बाहेक), ओली सरकारबाट अन्तिम बेला बाहिरिएको फोरम लोकतान्त्रिक (१४), राप्रपा (१२), नेकपा संयुक्त (५) र केही साना दलहरूले समर्थन गरेका छन् ।
दाहालको समर्थकमा आन्दोलनरत मधेसी दलका नेताहरूमध्ये संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका सर्वेन्द्रनाथ शुक्ल, सद्भावनाका लक्ष्मणलाल कर्णले हस्ताक्षर गरेका छन् ।
दाहालको विपक्षमा एमाले (१८२), नेकपा माले (५), नेमकिपा (४), राष्ट्रिय जनमोर्चा (३), परिवार दल (२) र बहुजन समाजवादी पार्टी (१) देखिएका छन् । आफ्नो उम्मेदवार खडा नगरे पनि एमालेले दाहालको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।






