लण्डन । साउथ ईस्ट लण्डनस्थित चार्ल्टन नेपाली समाजले यहि जुलाई २४ तारिख आइतबारका दिन गर्ने वार्षिक समर तथा बीबीक्यू कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारले प्रस्तुति गर्ने भएका छन । स्थानीय मेरिडियन स्पोर्ट्स एण्ड सोसल क्लबको मैदानमा सञ्चालन हुने सो कार्यक्रममा चर्चित लोकदोहोरी कलाकारहरु राधिका हमाल, रामजी खांड र थानेस्वर गौतम सहभागी हुने समाजका सचिव टिएन रिजालले जानकारी दिए ।
स्थानीयहरुको रुचिलाई ध्यानमा राख्दै राष्ट्रिय कलाकारहरुलाई पनि ल्याउन लागिएको सचिव रिजालले बताए । कार्यक्रममा स्थानीय कलाकारका नृत्य, गीतसहितका अरु विभिन्न सांस्कृतिक कार्यक्रम पनि रहनेछन । त्यसबाहेक कार्यक्रमका सहभागीलाई निशुल्क रुपमा आधारभुत स्वास्थ्य जांचको अवसर पनि मिल्ने आयोजकले बताएका छन ।
समाजको वार्षिक कार्यक्रममा विशेषत युवाहरुमाझ निकै लोकप्रिय रहंदै आएको भलिबल प्रतियोगिता यसपवर्ष पनि सञ्चालन हुनेछ । विजेताहरुलाई प्रदान गरिने पुरस्कारमा यसपटक उल्लेखनीय बृद्धि गरिएका कारण प्रतियोगिता थप रोचक हुने अपेक्षा छ । त्यस्तै यस वर्ष पहिलोपटक महिलाहरुका बीचमा समेत छुट्टै भलिबल प्रतियोगिता आयोजना गरिदैछ जसबाट भलिबलको चासो महिलाहरुमा समेत निकै बढेको छ । कार्यक्रम मध्यान्ह १२ बजे सुरु हुने र सांझ ७ बजेसम्म चल्नेछ ।
कार्यक्रममा सहभागिताका लागि १० पाउण्डको टिकट लाग्नेछ । ५ देखि १० वर्ष सम्मकालाई ५ पाउण्ड शुल्क छ भने ५ वर्षभन्दा मुनिकालाई निशुल्क प्रवेश दिइनेछ । समाजका अध्यक्ष रोमनाथ पाण्डेले कार्यक्रममा सहभागी भइदिन साउथ ईस्टसहित लण्डनमा बसोबास गर्ने सबै नेपालीहरुलाई आग्रह गरेका छन ।






