मधेसवादी दल फकाउँदै कांग्रेस–माओवादी

prachandaकाठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने तयारी गरेपछि नयाँ गठबन्धनमा जुटेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुको जोड मधेसवादी दललाई फकाउन केन्द्रित छ ।

कांग्रेसका २ सय ६ र माओवादीका ८२ तथा नेकपा संयुक्तसहित सात दलका सांसदले मात्र बहुमतीय सरकार बन्न नसक्ने अवस्था सृजना भएपछि कांग्रेस र माओवादी गठबन्धनको जोड मधेसवादी दललाई सरकारमा सामेल गराउनेतर्फ केन्द्रित भएको हो ।

माओवादीले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिएसँगै हर्ष व्यक्त गरिरहेका मधेसवादी दलहरुले वर्तमान सरकारविरुद्ध भोट दिने घोषणा गरेपनि नयाँ गठबन्धनमा सामेल हुने नहुनेबारे निर्णय गर्न नसक्दा कांग्रेस-माओवादी गठबन्धनको सक्रियता उनीहरुलाई फकाउन बढेको हो ।

कांग्रेसका एक नेताका अनुसार यतिखेरको चासो ओली नेतृत्वको सरकारलाई ढाल्नु मात्र होइन, मधेसवादी दलहरुलाई अब बन्ने सरकारमा सामेल गर्न सकिएन भने आगामी सरकार पनि टिकाउ हुँदैन । ती नेताले भने, ‘त्यसैले मधेसवादी दललाई सकभर सरकार गठनको सुरुवातमै सहभागी गराउने प्रयास भइरहेको छ ।’