त्रिशूली (नुवाकोट)- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले ठूलो पार्टी भएको नाताले काँग्रेसले सरकारको नेतृत्वको दाबी गर्नु स्वाभाविक भए पनि सरकार हरेक वर्ष फेरिनु नेपालका लागि राम्रो नहुने बताउनुभएको छ ।
क्षेत्र नं २ को इलाका प्रशासन कार्यालयको आज उद्घाटन गर्दै नेता डा महतले भन्नुभयो,“लोकतन्त्र आएको नौ वर्षमा आठ वटा सरकार परिवर्तन भएको छ, सरकारको स्थिरता नहुँदा विकास निर्माण प्रभावित भएको छ, अहिले काँग्रेस सरकार परिवर्तनको पक्षमा छैन । ”
वर्तमान सरकारले भूकम्पपीडितलाई आवास अनुदान दिन ढिलाइ गरिरहेको जनाउँदै पूर्वअर्थमन्त्री डा महतले आफू अर्थमन्त्री हँुदा भूकम्पपछिको पुनःनिर्माणका लागि भनेर रु ९१ अर्ब विनियोजन गरेकामा व्यक्तिगत घर निर्माणका लागि रु ५० अर्ब छुट्याएको तर अहिलेको सरकारले २५ करोड मात्र खर्च गरेको उल्लेख गर्नुभयो ।
उहाँले सरकारले काँग्रेस नेतृत्वको सरकारले छुट्याएको बजेट समेत खर्च गर्न नसकेको र भूकम्पपीडितलाई अनुदान दिन नसकेको भनी दोषारोपण गर्नुभयो ।






