काठमाडौँ, ४ असार । नेकपा (एमाले)ले सरकारले ल्याएको संविधान कार्यान्वयन कार्ययोजना सकारात्मक रहेको ठहर गर्दै त्यसमा दृढतापूर्वक अघि बढ्न सरकारलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेको स्थायी कमिटीको बैठकले विभिन्न तहको निर्वाचन गर्ने, आवश्यक कानुन संशोधन र आयोग गठनजस्ता सरकारले ल्याएको कार्ययोजना कार्यान्वयन हुनुपर्नेमा जोड दिएको हो ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले सो कार्ययोजना पारित गरेको थियो । एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले आन्दोलनरत मधेसी दलसँगको वार्ता निर्णायक बनाई तथा प्रमुख प्रतिपक्षीसँग सहमतिको वातावरण तयार गरी कार्यायोजना कार्यान्वयन गराउन सरकारलाई आग्रह गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘‘निर्वाचनलाई टार्न खोजेर संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्रलाई सरकारले चिर्नुपर्छ, त्यसका लागि स्थानीय निकाय पुनःसंरचना आयोगलाई आफ्नो प्रतिवेदन चाँडो बुझाउन भन्न सकिन्छ ।’’






