काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्टले काम नगरी तलब मात्र बुझ्ने खेलकुद प्रशिक्षकको तलब रोक्का हुने बताउनुभएको छ ।
नेपालमा सन् २०१८मा हुन लागेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) र सातौँ राष्ट्रिय खेलकुदको आयोजनालाई कसरी प्रभावकारी, व्यवस्थित र उपलब्धिमूलक बनाउन सकिन्छ भन्ने विषयमा सुझाव सङ्कलन गर्न सोमबार आयोजित अन्तक्रियामा विष्टले खेलाडीलाई प्रशिक्षण नै नगराई हाजिर गरेका भरमा तलब मात्र बुझ्ने ती प्रशिक्षकको हाजिर पनि खारेजी हुने बताउनुभयो ।
सदस्य–सचिव विष्टले प्रशिक्षण नगराउने प्रशिक्षकको ‘रिपोर्ट’ सम्बन्धित निकायमा बुझाउ क्षेत्रीय प्रशिक्षण प्रमुखलाई निर्देशन दिँदै खेलाडीलाई प्रशिक्षणको वातावरण मिलाउन सकेसम्म कन्जुस्याइँ नगरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विभागका निर्देशक नवीन उप्रेतीले अन्तक्रियाबाट आएका सुझाव समेटी पुस्तिका तयार गरिने तथा हरेक जिल्ला र क्षेत्रमा पठाइने जानकारी दिनुभयो ।






