बजेट सूचना चुहावट प्रकरण : छानविन समिति गठन गर्न सत्तारुढ दल सहमत

sarbadaliyaकाठमाडौं- बजेट सार्वजनिक हुनु पूर्व चुहावट भएको सम्बन्धमा प्रमुख प्रतिपक्षीको माग अनुसार छानविन समिति गठन गर्न सत्तारुढ दल सहमत भएका छन् ।

काँग्रेसले छानविनको माग गर्दे सोमवारको संसद बैठक अबरुद्ध पारेको थियो । सत्तारुढ दलको आज विहान बसेको संयुक्त बैठकले प्रमुख प्रतिपक्षी कंग्रेसको संसदीय छानविन समिति गठनको मागमा सहमति जनाएको हो ।

व्यवस्थापिका संसद्मा पेस हुनु अघिनै बजेटका महत्वपूर्ण विषय सार्वजनिक भएको भन्दै कंग्रेसले छानविनका लागि संसदीय समिति गठनको माग गरेको थियो । संसद्मा जारी गतिरोध अन्त्यका लागि छानविन समिति गठन गर्न सत्तारुढ दल तयार भएको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए ।

यसैबीच छानविन समिति गठन गर्न सत्तारुढ दल तयार भएसँगै सो विषयमा थप छलफल गर्न सर्वदलीय बैठक बस्ने भएको छ । नयाँबानेश्वरमा अहिले केहीबेरमा बस्ने बैठकमा संसदीय छानविन समिति गठन, बजेट गोपनीयताको मापदण्ड लगायत विषयमा छलफल हुने छ ।